काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा कानुनबमोजिम काम गर्न मन्त्रीलाई भेट्नु नपर्ने बताएका छन् । मन्त्री लामिछानेले गृह मन्त्रालयका कर्मचारीहरू नागरिकको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेको बताएका छन् ।

मन्त्री बनेपछि बधाई तथा शुभकामना दिनेहरूलाई धन्यवाद ज्ञापन गर्दै उनले भनेका छन्, ‘हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन । हाम्रा कर्मचारी साथीहरु तपाईको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिवद्द छन् । हामी, हुने कामलाई यति समय भित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा छौं । हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला । जीवनमा आलोचक साथीहरू छन् र त सुखद यात्राहरु सम्भव भए । अबको यात्रामा पनि यसैगरी सघाउनु होला ।’
मन्त्री लामिछानेले मन्त्री बनेपछि बधाई तथा शुभकामना दिनेहरूलाई धन्यवाद ज्ञापन गर्दै उनले भेटघाट, फूलमाला, खादा गम्छाको शिलशिला रोकेर काममा लाग्नुपर्ने समय आएको उल्लेख गरेका छन् ।














