पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका दिन आइतबार पोखरामा सार्वजनिक विदा हुने भएको छ । करिब ५० वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलको सपना पूरा हुने भएपछि पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको हो ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै छन् । यही खुसीमा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिन लागेको हो ।
आइतबार अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्यादली निकाल्ने तयारी गरेको छ । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम छ । साथै, उनीसँगै तत्कालीन प्लानर पदमबहादुर क्षेत्रीलाई समेत अभिनन्दन गर्ने कार्यक्रम रहेको महानगरले जनाएको छ ।
शुभारम्भ समारोहमा प्रधानमन्त्री प्रचण्डका आलावा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमले बताए । फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने उनले जानकारी दिए ।











