
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री पछिल्लो समय नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति निक्कै लचक देखिन्छन् ।
पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछि पार्टीका नेतृत्वप्रति असन्तुष्ट झाँक्रीले पछिल्लो समय अध्यक्ष माधवकुमार नेपालसँग ‘लिडरसिप’ क्षमता नै नभएको समेत टिप्पणी गरेका छन् ।
ग्लोबल टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा झाँक्रीले एमाले अध्यक्ष ओलीको प्रशंसा गर्दै आफ्ना अध्यक्षसँग नेपालसँग नेतृत्वमा हुनपर्ने गुण नरहेको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्– ‘केपी कमरेडको जस्तो सोच्ने क्षमता माधव नेपालमा भएको भए त कहाँ यस्तो छेउमा परिन्छ त ? बीचमा परिदैन भनेको ? यो मामिलामा त केपी कमरेडले यत्ति स्ट्राटेजीक कदम चाल्नु भयो कि उहाँको टिमकै धेरै सदस्यलाई थाह थिएन होला । लिडरसिप त यस्तै हुनुपर्छ क्या !’
झाँक्रीले पछिल्लो पटक एमाले–माओवादी सहकार्यमा सरकार बन्दा आफ्नो पार्टी सत्ताबाहिर भएपछि अध्यक्ष नेपालप्रति यस्तो टिप्पणी गरेका हुन् ।
झाँक्रीले पार्टी विभाजन भएपछि मन्त्री बन्ने अवसर पाए थिए । तर, आफूले चाहेको जति समय मन्त्रीका रुपमा काम गर्न नपाएपछि पूरानै पार्टी फर्कने चाहेको संकेत गरेको कतिपयको अनुमान रहेको छ ।
पार्टी एक हुँदा र पार्टी विभाजन भएपछि पनि एमाले अध्यक्ष ओलीको खरो आलोचना गर्दैका आएका झाँक्री मन्त्री खोसिएपछि भने एमाले नै ठीक भन्ने अवस्थामा पुगेको देखिन्छ ।
यसपटक झाँक्रीले एमाले अध्यक्ष ओलीको खुलेरै प्रशंसा गरेका छन् । नेतृत्व भनेको केपी ओली जस्तो हुनुपर्ने उनको धारणा रहेको छन् ।
अन्तरवार्तामा झाँक्री भन्छन्– ‘केपी कमरेडसँग पार्टी एक हुँदा र बेग्लै हुँदा पनि लडेको छु । तर, नेतृत्व भनेको उहाँ नै हो । उहाँ जस्तो नेतृत्व ठीक लाग्छ ।’
पार्टीमा झाँक्री असन्तुष्ट रहेको बुझेपछि एमालेका नेताहरूले एमालेमा फर्काउने प्रयास गरिरहेको बुझिन्छ । तर, झाँक्री भने अहिलेकै अवस्थामा एमालेमा फर्कन सक्ने अवस्था नरहेता पनि एमालेसँगको सहकार्य र एकता असम्भव भने नरहेको प्रतिक्रिया दिने गरेको एमाले नेताहरू बताउँछन् ।














