Logo
Logo

जुनिअर प्रहरी अधिकृतको गुनासो– असल नियतले गरेका कामको पनि संरक्षण भएन




काठमाडौं । प्रहरीका जुनियर प्रहरी अधिकृत (वरिष्ठ नायब निरीक्षक, नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक)हरूले असल नियतले गरेका कामको पनि संगठनबाट संरक्षण नभएको गुनासो गरेको छ । प्रहरीले गरेको एक अध्ययनमा उनीहरुले सोही कारण आफुहरुको मनोबल खस्केको बताएका छन् ।

अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै गृहमन्त्री रवि लामिछाने


साथै विद्यमान कानुनमा आफ्नो अधिकार कटौती गर्दा मनोबल खस्किएको उनीहरुको भनाई छ । प्रहरी प्रधान कार्यालयले गरेको अध्ययनमा एकातर्फ अधिकार कटौती भएको र अर्काेतर्फ बढुवामा ढिलाइ, कामको उचित मूल्यांकन नभएको तथा समान अवसरबाट वञ्चित भएको गुनासो गरेका छन् ।

‘नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरू शोध प्रतिवेदन, २०७९’ अध्ययनले उनीहरूका गुनासा र समस्या बाहिर ल्याएको हो । प्रतिवेदनको निष्कर्ष छ, ‘स्पष्ट वृत्ति विकास प्रणालीको अभाव, पदोन्नतिमा ढिलाइ, प्रहरी सेवाबाट पारिवारिक आर्थिक अवस्था सबल नहुनु, विद्यमान कानुनमा जुप्रअहरूको कानुनी अधिकार कटौती गरिनु आदि कारणले गर्दा जुप्रअहरूको कार्य सन्तुष्टि र कार्य उत्प्रेरणाको स्तरमा केही ह्रास आएको देखिएको छ ।’

प्रधान कार्यालयले कार्य वातावरण, कार्य सन्तुष्टि, कार्य उत्प्रेरणा र कार्य सम्पादनजस्ता विषयमा केन्द्रित रही अध्ययन गरेको थियो । एक हजार तीन सय ८६ प्रहरीबीच सर्वेक्षण, अन्तर्वार्ता र छलफलबाट सो निष्कर्ष निकालिएको प्रतिवेदनमा उल्लेख छ । कामको उचित मूल्यांकन, निर्णय प्रक्रियामा सहभागिता, असल नियतले गरेको कार्यमा संरक्षण गर्ने, नेतृत्व गर्ने समान अवसरलगायतका पक्षहरूमा पर्याप्त ध्यान नपुग्दा जुनियर प्रहरी अधिकृतको कार्य सम्पादनस्तरमा प्रत्यक्ष असर पारेको निष्कर्ष छ ।

अध्ययनबाट प्राप्त तथ्य र निष्कर्षका आधारमा वृत्ति विकासमा प्रणालीगत सुधार, कार्य सम्पादन मूल्यांकन, सेवा–सुविधा वितरण तथा पुरस्कार–सजायमा निष्पक्षताजस्ता सवालहरूमा प्रस्तुत भएका अल्पकालीन र दीर्घकालीन सुझाव आगामी नीतिहरूमा कार्ययोजनामार्फत समावेश गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो अध्ययन प्रतिवेदन शुक्रबार गृहमन्त्री रवि लामिछानेले सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्