विराटनगर । प्रदेश १ को ‘प्रदेश निजामती सेवा अध्यादेश–२०७९’ प्रदेशसभाको पहिलो बैठकले पारित गरेको छ । आइतबार ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको पहिलो बैठकले अध्यादेशलाई पारित गरेको हो ।

बैठकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले अध्यादेश पेस गरेका थिए । संघीय सरकारले प्रशासनिक संघीयता कार्यान्वयमा ढिलाइ गरेपछि प्रदेशले कामकारबाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको हो ।
प्रदेश सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संसोधन अध्यादेश २०७९ जारी गरेको थियो । बैठकले अन्य केही प्रदेश ऐन संशोधन अध्यादेश समेत पारित गरेको छ । प्रदेश १ को प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतलाई बैठकले पारित गरेको हो ।











