
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले आवश्यकता ठाने सरकारमा सहभागिताबारे सोच्न सकिने बताएका छन् ।
दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकपछि प्रतिक्रिया दिँदै नेता खनालले अहिलेसम्म सरकारमा सहभागिताबारे कसैबाट पनि औपचारिक आग्रह नआएको बताउँदै सरकारले आवश्यकता ठाने सोच्न सकिने बताएका हुन् ।
नेता खनालले भने– ‘बैठकमा सरकारमा सहभागी हुने र नहुने दुवै किसिमको धारणा आएको छ । तर, मुख्य गरी हामीलाई औपचारिक रुपमा सरकारमा सहभागिताबारे जानकारी आएको छैन । यदि, सरकारले हाम्रो आवश्यकता महसुस गरे त्यस विषयमा छलफल गर्न सकिन्छ ।’
नेता खनालले सरकारको कार्यक्रम हेरेर सरकारमा सहभागी हुने या नहुने भन्ने थप टुङ्गो लाग्नेसमेत बताएका छन् । सरकारले अहिलेसम्म आफ्नो कार्यक्रम नै सार्वजनिक गरिनसकेकाले आफूहरू ‘पर्ख र हेर’ अवस्थामै रहेको समेत बताए ।
उनले भने– ‘त्यसै सरकारमा सहभागी हुने कुरा हुँदैन । वामपन्थी सरकार जस्तो देखिए पनि यसको आधार त्यस्तो छैन । विभिन्न विचारका पार्टी मिलेर सरकार बनेको छ । त्यसैले सरकारले ल्याउने नीति तथा कार्यक्रममा पनि हामी सरकारमा सहभागी हुने या नहुने टुङ्गो लाग्छ ।’
नेता खनालले भोलि बस्ने पोलिटब्युरो बैठकबाट पनि सरकारमा सहभागी हुने या नहुने भन्नेबारे थप स्पष्ट हुने जानकारी दिए ।














