काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु सत्तारुढ गठबन्धनमा सामेल नहुने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै आध्यक्ष नेपालले आफ्नो पार्टी कुनै पनि शक्तिको पछि नलाग्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘देशको राजनीतिक आफ्नै जटिलताहरु छन् । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन ।’
उनले आफ्नो पार्टी देशको हितलाई केन्द्रमा राखेर अघि बढ्ने समेत बताए । ‘नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं, अहिले नै सरकारमा सामेल हुने हाम्रो इच्छा छैन’ अध्यक्ष नेपालको भनाइ थियो ।
मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको वस्तुनिष्ठ समीक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोप प्रत्यारोपको राजनीति नगर्ने उनले धारणा राखे । अध्यक्ष नेपालले भने, ‘यो आरोप–प्रत्यारोप गर्ने बेला होइन । कसैसामु लत्रिनु परेको पनि छैन । हामीले ठीक गरेको छौं । दृढताका साथ उभिएका छौं ।’
सोमबार सुरु भएको पोलिट्व्यूरो बैठकमा नेताहरुले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा आ–आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
उनले भने, ‘बैठकमा सदस्यले सरकारमा जाने कि समर्थन मात्र गर्ने भन्नेबारे धारणा राखेका छन् ।’ धेरै सदस्यहरु बाहिर बसेर एमाले र माओवादीसहितको गठबन्धनको सरकारलाई समर्थन गर्ने पक्षमा रहेका छन् ।














