काठमाडौं । कोटेश्वरको महादेवस्थानमा मेलम्चीको खानेपानी पाइपलाइनमा नआएको भन्दै स्थानीयले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन् ।

अन्य क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत आएको पानी बढी भएर खेर जाँदासमेत कोटेश्वर महादेवस्थान क्षेत्रमा पाइपलाइनबाट हाइटमा नचढ्दा पानी नआएको भन्दै सोमबार महादेवस्थानका स्थानीयले ज्ञापनपत्र बुझाएका हुन् ।
निर्देशनालयलाई बारम्बार जानकारी गराउँदासमेत अझै पानीको पाइपबाट घरहरूमा पानी पुर्याउन नसकेको गुनासो गर्दै स्थानीयले समस्या समाधान नभए ठेकेदारको समेत घर घेर्ने चेतावनी दिए ।
निर्देशनालयका प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले उक्त क्षेत्रमा जोडिएको सिस्टमले हाइटमा पानी नपुग्ने भएकाले नयाँ पाइपलाइन बनाइएको बताए । पुरानो लाइनमा नयाँ पाइपबाट पठाए पनि हाइट र टाढा भएको घरमा पानी पुग्न नसक्ने उनले बताए ।
हाइड्रोलिक्स बिग्रिने भएकाले तत्काल पाइपमा पानी पठाउन नसकिएको भन्दै उनले अध्ययन गरेर छिट्टै स्थानीयको माग सम्बोधन आश्वासन दिए ।














