Logo
Logo

मालपोत, यातायात र बैदेशिक रोजगारका अर्बपति कर्मचारीको सम्पत्तिमा अख्तियारको छानबिन


2.3k
Shares


काठमाडौं । पद तल्लो दर्जाको भए पनि मालपोत, यातायात र बैदेशिक रोजगार विभाग र कार्यालयमा बर्षौसम्म कार्यरत रही अकूत सम्पत्ति आर्जन गर्ने खरिदार, नायबसुब्बा र अधिकृतहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।


मालपोतका खरिदार नासुहरुको अकूत सम्पत्तिका बारेमा त धेरै नै उजुरी परिसकेपछि अख्तियारले गम्भीरतापूर्वक छानबिन थालेको हो । मालपोतका मात्र होइन, जग्गा नापजाँचमा दायाँबायाँ गर्ने नापी कार्यालयका सर्भेक्षक र नापी अधिकृतहरुको पनि अकूत सम्पत्ति छानबिन भइरहेको छ । अख्तियार स्रोतका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला, झापा, बिराटनगर, इटहरी, जनकपुर, बीरगंज, हेटौंडा, चन्द्रनिगाहपुर, पोखरा, रुपन्देही, दाङ, नेपालगंज, धनगढी जस्ता जिल्लामा कार्यरत मालपोत कार्यालयका खरिदार, नासु र अधिकृतहरुका साथै नापीका सर्भेक्षक र नापी अधिकृतहरुको सम्पत्ति अख्तियारले मिहीन ढंगले छानबिन गरिरहेको छ ।


अख्तियार स्रोतका अनुसार, ५ बर्षभित्र अवकाश भएका मालपोत, यातायात र बैदेशिक रोजगार विभागका खरिदार नासु र अधिकृतहरुको समेत छानबिन भइरहेको छ । मालपोतबाट पूँजीगत लाभकरछलीदेखि कित्ताकाट रोक्का हुँदा पनि आनाको लाख घुस लिएर कित्ताकाट गर्ने मालपोत कार्यालय र नापीका कर्मचारीको छानबिन गरिरहेको छ । काठमाडौं उपत्यकाका मालपोत कार्यालयदेखि तराईका मालपोत कार्यालयमा बसी सानोठिमीमा रिमोटवाला बंगला र जग्गाजमिन समेत जोड्न सफल भएका मालपोत अधिकृत दीपेन्द्र झाका बिरुद्ध पनि अख्तियारले अकूत सम्पत्तिमा छानबिन गरिरहेको छ । अकूत सम्पत्ति आर्जन गर्ने मालपोतका खरिदार, नासु र अधिकृतहरुका बिरुद्ध छानबिन गर्न विज्ञका रुपमा अख्तियारले उपसचिव केदार सिलवाललाई परिचालन गरेको छ । उनले मालपोत र नापीका अर्बपतिहरुको सूची तयार गरी छानबिन सुरु गरेका छन् ।
ललितपुरबाट २ बर्षअघि अवकाश पाएका श्याम सिलवाल क्षेत्रीदेखि मोहन स्वाँर लगायतको अकूत सम्पत्तिका बारेमा पनि उजुरी परेको छ । अकूत सम्पत्ति आर्जन गर्नेहरुमा मालपोत अधिकृत बद्री ढकालका बिरुद्ध पनि अख्तियारले छानबिन गरिरहेको छ । मालपोतका अर्बपति खरिदार, नासु र अधिकृतहरुको उजुरी आयुक्त किशोर सिलवाललाई चिनेको छु भन्दै तामेलीमा हालिदिने भन्दै बिचौलिया प्रमोद खड्काले मोलमोलाइ गर्दैआएका छन् ।


मालपोत कार्यालयमा बसी अकूत सम्पत्ति आर्जन गरेका चावहिल मालपोत कार्यालयका खरिदार लक्ष्मण बस्नेतका बिरुद्ध अख्तियारले अख्तियारले २०७८ फागुन २९ गते विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । १० बर्षदेखि चावहिल मालपोत कार्यालयमा कार्यरत रही गैरकानुनी रुपमा छुट जग्गा दर्ता गर्नेदेखि कित्ताकाटमा आनाको एक लाख घुस खाई अथाह सम्पत्ति आर्जन गरेका बस्नेतसहित ३ जनालाई अख्तियारको टोलीले २०७८ फागुन १२ मा १ लाख ३५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । मालपोत अधिकृत बद्री ढकालका बिरुद्ध पनि अख्तियारले छानबिन गरिरहेको छ ।


बस्नेत अर्बपति खरिदारमा पर्दछन् । त्यस्तै मालपोतका अर्बपति नासुमा लक्ष्मण भट्टराई पनि एक हुन् । डिल्लीबजार मालपोत कार्यालयमा १५ बर्षदेखि काम गरेका अरबपति खरिदार लक्ष्मण भट्टराईको बारेमा अख्तियारले छानबिन गरेको थियो । तर उनले सम्पत्ति सबै अर्कैको नाममा राखेका कारण अख्तियारले मुद्दा दर्ता गर्न आवश्यक प्रमाण जुटाउन नसकेकाले उनले उन्मुक्ति पाएका छन् । उनी समायोजनमा अन्यत्रै सरुवा हुने र घुस खान नपाउने भएपछि निजामती सेवा ऐनको दफा २४(घ) अनुसार विशेष बढुवा फर्म समेत नभरी गरी खरिदारमै बसेका थिए ।


त्यसैगरी, बैदेशिक रोजगार विभागका अर्बपति अधिकृत प्रदीप ढकालका बारेमा पनि अख्तियारले अनुसन्धान गरिरहेको छ । उनी बीचमा १ बर्षबाहेक ११ बर्षदेखि बैदेशिक रोजगार विभागमा कार्यरत छन् । बैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचल र विभागमै उनको ११ बर्ष बितेको छ । श्रम मन्त्रालयका उपसचिव र सहसचिवसम्म सेटिङ मिलाउन माहिर खेलाडीका रुपमा उनी चिनिन्छन् । बिभागमा कार्यरत हुँदा पनि ढकालले नै काठमाडौं कार्यालयमा समेत सेटिङ मिलाउने र मासिक दसौं लाख घुस संकलन गर्ने गर्दछन् । ढकाललाई बैदेशिक रोजगार विभागभित्र सेटिङका माष्टरमाइन्ड नै मानिन्छ ।
बैदेशिक रोजगार विभागमा नासु पेशल कोइराला १० बर्षसम्म सबै सेटिङ मिलाएर बसेका थिए भने बिपुल पराजुली पनि अर्का डनका रुपमा थिए । पछिल्लो समयमा भने प्रदीप ढकाल बैदेशिक रोजगार विभागका सेटिङ गर्ने मुख्य पात्र हुन् ।


त्यसैगरी जनसम्पर्क कार्यालयका रुपमा सबैभन्दा बदनाम मानिएको यातायात कार्यालयहरुमा सेटिङबिना सवारीअनुमति पत्र पाउनु दुरुह नै छ । सेटिङ नगर्नेहरुलाई लिखितमै फेल गराउने, यदि पास भइहालेमा ट्रायलमा बिग्रेको सवारी साधन दिएर फेल गराउने काम हुन्छ । सेटिङबाट गएको छ भने कन्डिसन ठीक भएको सवारी साधन दिने गरिन्छ । ड्राइभिङ सेन्टरका संचालकहरुसँग मिलेर यातायातका कर्मचारीहरुले सेटिङ मिलाउने गर्दछन् । भक्तपुरको इजीवे ड्राइभिङ सेन्टर, एकान्तकुना ललितपुरको सुजुकी ड्राइभिङ ट्रायल सेन्टर राजन क्षेत्रीसँग मिलेर सेटिङ गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्