बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि त्यसको चर्को आलोचना भएको छ ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरीले बुधबार साँझ साँढेलाई लु१ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर घिसारेको थियो ।

सडकमा घिर्सादा साँढे रक्ताम्य भएपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
साँढेलाई रक्ताम्य हुनेगरी घिसार्दै गरेको तस्बिीर अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सिद्धार्थनगरका नेता अजय गुप्ताले छाडा चौपाया व्यवस्थापन गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न नगर प्रमुखलाई ज्ञापनपत्र दिने बताएका छन् ।
नेकपा एमाले सिद्धार्थनगरका सचिव नारायणप्रसाद भण्डारीले पनि जिउँदो पशुलाई ट्रकले घिसार्दै रक्ताम्य बनाएको भन्दै यसबारे नगर प्रमुखले जवाफ दिनुपर्ने बताए ।












