Logo
Logo

नाटक ‘महाभारा’ इलाममा प्रदर्शन


अतीत योङहाङ


इलाम । चेतना नाट्य समूह इलामले पत्रकार तथा लेखक बसन्त बस्नेतद्धारा लिखित ‘महाभारा’ पुस्तकलाई नाटकमा रुपान्तरण गरि प्रदर्शनमा ल्याएको छ ।

इलाममा ‘इलाम कला घर’ निर्माण गर्ने मूल उद्देश्यसहित हिजो बुधबारदेखि नाटक प्रदर्शन गरिएको हो । नारी विकास इलामको हलमा आउने ३० गतेसम्म नाटक प्रदर्शन हुने चेतना नाट्य समूह इलामका अध्यक्ष सुरेश पोर्तेलले जानकारी दिए ।

नाटकलाई अन्वेश थुलुङले निर्देशन गरेका छन् । निर्देशक र लेखक दुवै इलामे हुन् । नाटकमा समेत इलाम र पूर्वी पहाडका गाउँवस्तीका कथावस्तुलाई हेर्न सकिन्छ ।

पुस्तकमा भएको सोही कथावस्तुलाई कलात्मक अभिनयमार्फत दर्शकसामु पुर्याउने प्रयास गरिने निर्देशक थुलुङले बताए । नाटकमा नेपालमा भएको तत्कालिन दश वर्षे जनयुद्धको समयमा माओवादीले खेलेको भूमीका उल्लेख छ ।

त्यस्तै नाटकमा गाउँबेसीँ र लिम्बू तथा किरातीहरुको संस्कार संस्कृतिको सौन्दर्यपन हेर्न पाइन्छ । नाटकमा अझै राम्रो प्रेम र गाउँघरको प्रेमजीवन अनि मिलन बिछोड पनि महसुस गर्न पाइन्छ । समग्रमा नाटकले धर्म, प्रेम र राजनीतिको समिश्रणलाई उल्लेख गरेको छ ।

नाटकमा भावना मगर, प्रकाश मगर, आशिका सक्तेन, गोपीराज लिम्बू, दर्शन सरकार, सुशान्त चापागाईं, कृष्ण मगर, प्रतिमा रिजाल, मोहन राई, रचना नेम्बाङ, मनिष विक, रोजन गुरुङ, विमला रानामगर र तेज मगर गरी १५ जना कलाकारको अभिनय छ ।

पर्दशनको पहिलो दिन इलाम क्षेत्र नं. १ का सांसद महेश बस्नेत सहित इलाम नगरपालिकाका वडा ४ र ७ का अध्यक्षद्वय क्रमश नुतनदेव दुलाल र नरेश श्रेष्ठ, मानव अधिकार मञ्च इलामका अध्यक्ष मोहनसिं थेवे लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्