Logo
Logo

एकीकृत समाजवादीले माघ र फागुनमा जिल्ला र प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने


567
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्कुल विभागले आगामी माघ र फागुनमा पार्टीको प्रदेश, जिल्ला र प्रवासस्तरमा प्रशिक्षण कार्यक्रम संचालन भएकाे छ । बुधबार पार्टीको स्कुल विभागको बैठक सो निर्णय गरेको हो ।

पार्टी उपाध्यक्ष तथा विभागका प्रमुख प्रमेश हमालको अध्यक्षतामा बसेको बैठकमा विभागको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरिएको थियो ।

बैठकले तत्कालीन कार्ययोजना निर्माण गरी प्रदेश स्तरीय आवासीय प्रशिक्षण, जिल्ला प्रशिक्षण, सबै तहको पार्टी स्कुलको पूर्णता, पार्टी स्कुल प्रशिक्षण म्यानुअल’ प्रकाशन गर्ने लगायतका विषयमा छलफलसहित निर्णय भएको पार्टीका केन्द्रीय सदस्य तथा पार्टी स्कुल विभागका सचिव अशेष घिमिरेले जानकारी दिए ।

कार्ययोजना अनुसार विभिन्न जनसंगठनमा स्टडी ग्रुप बनाएर वैचारिक काम प्रवद्र्धन गर्न मोर्चा संगठनसँग पुसभित्र बैठक बस्ने, माघ १५ गतेभित्र सबै प्रदेश र जिल्ला पार्टी स्कुल विभाग गठन गरि बैठक गरिसक्नुपर्ने तालिका तय गरिएको छ ।
यस्तै, फागुन १५ भित्र ३ देखि ५ दिन दिवसीय प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने, जसमा हरेक जिल्लाबाट निर्वाचन क्षेत्र बराबरको संख्यामा सहभागीहरू छनौट गरिने जनाइएको छ ।

त्यस्तै फागुन महिनाभित्र जिल्ला तहमा कम्तिमा २ दिवसीय आवासीय प्रशिक्षण सञ्चालन गरिने छ । केन्द्रिय पार्टी स्कुलले आयोजना गरेको प्रशिक्षक प्रशिक्षणका विषय र अनुभवलाई आधार बनाएर पार्टीको प्रशिक्षण म्यानुअल’ र विभिन्न विषयमा प्रशिक्षण पुस्तिका’ तयार गरि फागुन १५ भित्र प्रकाशन गर्ने कार्ययोजना तय गरिएको छ ।

यस्तै, निर्वाचन अगाडि सञ्चालन भैरहेको केन्द्रीय प्रशिक्षक प्रशिक्षणको अर्को शृँखला फागुनभित्र सञ्चालन गर्ने, पार्टी एकीकरणका प्रक्रियाबाट पार्टीमा आएका सदस्य, केन्द्रीय विभागहरु, प्रवास कमिटीहरु तथा प्रारम्भिक पार्टी स्कुल बाँकी रहेका अन्य जनसंगठनहरु, उपत्यकाका जिल्ला कमिटीलाई ध्यानमा राखेर नियमित पार्टी स्कुल बिहान माघबाट क्रमशः सञ्चालन गरिने भएको छ ।

यस्तै, प्रवास कमिटी र जिल्ला पदाधिकारीहरुका लागि जुममार्फत विशेष प्रशिक्षण माघ महिनामा सञ्चालन गरिने, जिल्ला पदाधिकारीहरुको प्रशिक्षण प्रदेशअनुसार गरिने, हरेक तहको कमिटीको बैठक प्रशिक्षण गर्नेमा ध्यान केन्द्रीत गर्ने, जुनसुकै तहको पार्टी कमिटीका हरेक बैठकहरु राजनीतिक तथा वैचारिक विषयमाथि छलफल गरेर सञ्चालन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु भएको विभागका सचिव घिमिरेले बताए ।

बैठकले मुलुकलाई दक्षिणपन्थी र अवसरवादी भड्कावबाट जोगाउँदै वाम लोकतान्त्रिक आन्दोलनलाई सही दिशा दिन ऐतिहासिक दायित्व पार्टीले निर्वाह गर्नुपर्ने भन्दै वाम आचरण र जागरणका लागि विशेष ध्यान दिनुपर्ने समीक्षा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्