काठमाडौं । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले ७ दिनभित्र सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न जारी विज्ञप्तिमा भनिएको छ ।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन हुनेछ ।
४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक÷ एकजना छन् ।












