काठमाडौं । गृह मन्त्रालयले कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गरेको एक साता नबित्दै प्रधानमन्त्री कार्यालयले पुनः लगेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई १९ पुसमा पत्र पठाउँदै ती सुरक्षकर्मी अर्को व्यवस्था नभएसम्म साविक रूपमा काम गर्न दिनु भन्ने निर्देशन दिएपछि पुनः फर्किएका हुन् ।

‘तहाँ मन्त्रालय मातहत रहेको नेपाल प्रहरीका विभिन्न कार्यालयमा दरबन्दी रही यस कार्यालयका साथै प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत देहाय बमोजिमका सवारी चालकहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि यस कार्यालयमा निरन्तर रुपमा कामकाज गर्नेगरी व्यवस्था हुन आदेशानुसार अनुरोध छ’ प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत झविन्द्रप्रसाद पाण्डेयले पठाएको पत्रमा भनिएको छ ।
यसअघि गृह मन्त्रालयले १२ पुसमा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्रमा फिर्ता गर्न निर्देशन दिएको थियो ।
गृह मन्त्रालयको निर्देशनपछि २२१ जना सुरक्षाकर्मी ४८ घण्टाभित्रैमा फिर्ता भएका थिए । नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरीका ११८ जना सुरक्षाकर्मी फिर्ता भएका थिए । तर, यसरी फिर्ता गरिएका सुरक्षाकर्मी पुनः पहिलेकै स्थानमा माग हुन थालेको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले फिर्ता गर्न थालेको हो ।
गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले आवश्यक परे प्रधानमन्त्री कार्यालयले सुरक्षाकर्मी माग गर्न सक्ने बताए । उनले यसअघि फिर्ता गरेका सुरक्षाकर्मी फेरि लगेको भन्ने आफुलाई जानकारीमा नभएपनि आवश्यक परेको खण्डमा प्रधानमन्त्री कार्यालयले माग गर्न सक्ने बताए ।















