काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका नेताहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी कार्यलयमा भएको भेटमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री माओवादीले पाउनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न माओवादी प्रदेश संसदीय दलका नेता खगराज भट्ट, प्रदेश सांसदहरू सरल भाट र प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ गएका थिए । उनीहरुले प्रदेशको गठबन्धनमा सबैभन्दा ठूलो दल माओवादी भएकोले दाबी नछाड्न आग्रह गरिएको छलफलमा सहभागी एक नेताले बताएका छन् । उनीहरुले प्रधानमन्त्रीसँग सत्तागठबन्धनको बैठकमा सुदूरपश्चिम माओवादीले पाउने गरी अडान लिन आग्रह गरेका छन् ।
तर, छलफलका क्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले अहिले नै कसको भागमा पर्ने भन्नेबारे बताउन नसकिने जनाएका थिए । ती नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले दलहरूबीच प्याकेजमा सहमति हुँदा सुदूरपश्चिममा जोड दिन सकिने बताएका थिए ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेले समेत दाबी गरिरहेको छ । अघिल्लो पटक एमालेको समर्थनमा माओवादीले पाँच वर्ष सरकार चलाएकाले यसपटक माओवादीको समर्थनमा एमालेले सरकारको नेतृत्व पाउनुपर्ने एमालेका नेताहरूले बताउँदै आएका छन् ।
यसैबीच एमाले नेताहरू बिहीबार साँझ अध्यक्ष केपी ओलीलाई भेट्न जाने तयारीमा छन् । एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र एमाले संसदीय दलका नेता राजेन्द्र रावल नेतृत्वको दाबी लिएर बालकोट जान लागेका हुन् ।











