काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गरिनुपर्नेमा जोड दिएका छन् ।

जुत्ता उत्पादक सङ्घ नेपालले भृकुटीमण्डपमा आयोजना गरेको अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन गर्दै उनले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दीगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्ने बताए ।
राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निकासी प्रवर्द्धन गर्नसके मात्र हाल मुलुकले बेहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने धारणा राखे ।
उनले भने, ‘आजको प्रतिस्पर्धी युगमा उत्पादनको विविधीकरण र उपभोक्ताको रुचिलाई ध्यानमा दिएर गुणस्तरीय उत्पादनसहित ब्राण्डिङ गर्नसकेको खण्डमा नेपाली उत्पादनमार्फत विश्व बजारबाट लाभ हासिल गर्न सकिन्थ्यो, त्यसैले स्वदेशी उत्पादन प्रवद्र्धन आवश्यक छ ।’
नेपालको अर्थतन्त्रलाई टेवा पु¥याउन जुत्ता चप्पल उद्योगले पनि महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उनले सरकार र निजी क्षेत्रबीच साझेदारीता अभिवृद्धिका साथ नेपाली उत्पादन प्रवद्र्धन र निर्यातमा मेला उपयोगी हुने विश्वास व्यक्त गरे ।
राष्ट्रपति भण्डारीले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन सरकारले विशेष ध्यान पु¥याउनुपर्दछ भने, ‘नेपालको आर्थिक विकास गर्ने तुलनात्मक लाभका क्षेत्रहरू पहिचान गरिसकेका छौँ । ती क्षेत्रमा लगानी बढाउन र सहजीकरण गर्न उद्योगमैत्री नीति बनाएर निजी क्षेत्र र सरकारबीच उच्चस्तरको समझदारीका साथ मुलुकको अर्थतन्त्रको विकासमा ध्यान दिन जरुरी छ’, उनले भने ।
कार्यक्रममा विनाविभागीय मन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादन प्रवद्र्धनका लागि सरकार सकारात्मक रहेको भन्दै छिट्टै टुङ्गिने सरकारको न्यूनतम साझा कार्यक्रममा व्यावसायिक समस्याको सम्बोधन हुने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले देशको महत्त्वपूर्ण जुत्ता चप्पल उद्योगको आत्मनिर्भरताका साथै निर्यातमा पनि राम्रो सम्भावना रहेको भन्दै यस व्यवसायमा आबद्ध व्यवसायीको प्रोत्साहनका लागि आवश्यक सहजीकरण गरिनुपर्नेमा जोड दिए ।














