Logo
Logo

कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने



सुर्खेत । कर्णाली प्रदेशमा सत्ता गठबन्धन दल नेकपा माओबादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकले कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो ।

निर्णयसँगै कर्णालीको मुख्यमन्त्री राजकुमार शर्मा बन्ने निश्चित भएको छ । रुकुम पश्चिम (ख)बाट निर्वाचित शर्मा अब कर्णालीको तेस्रो मुख्यमन्त्री बन्नेछन् । पुस १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । १३ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ ।

कणालीमा मुख्यमन्त्री माओवादीले पाएपछि एमालेले सभामुख पाउने भएको छ । तर, एमालेबाट सभामुखमा कसलाई पठाउछ भन्ने टुंगो अझैँ हुन सकेको छैन । कर्णाली प्रदेशसभामा एमालेको १० सिट रहेको छ । सरकार बनाउनका लागि २१ सिट भए पुग्छ । माओवादी र एमाले मिलाएर २३ सिट छ । प्रदेश प्रमुख तिलक परियारले २७ गते बेलुकी ५ बजे सम्म मुख्यमन्त्रीको दावी प्रस्तुत गर्न समय दिएका छन् ।

सभामुख र उपसभामुख चयनको मिति तोकिने कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो बैठक सोमबार (आज) दिउँसो १ बजे बस्दै छ । जेष्ठ सदस्य विनानेद शाहको अध्यक्षतामा १८ गते बसेको पहिलो बैठकले आज पुस २५ गतेलाई बैठक आह्वान गरेको थियो । बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्