
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङ्ले आज (सोमबार) २ बजे मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनियताको सपथ खुवाउने कार्यतालिका रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्नेछन् । एमाले, राप्रपा र माओवादी केन्द्रबाट १–१ जना मन्त्री नियुक्त गर्ने सम्भावना छ । एमाले नेता गुरु बरालका अनुसार माओवादीका तर्फबाट दुर्गाप्रसाद चापागाईं सचिन, राप्रपाबाट भक्ती सिटौला र एमालेबाट तिलकुमार मेन्याङ्बो मन्त्री बन्ने भएका छन् । त्यस्तै एमालेबाट २ जना मन्त्री भए बुद्वीकुमार राजभण्डारी पनि मन्त्री बन्ने सम्भावना रहेको नेता बरालले बताए ।
मुख्यमन्त्री कार्कीले सपथ खाएसँगै विस्तारित मन्त्रीले पद तथा गोपनियताको सपथ लिनेछन् । पुस २४ गते ६० जना सांसदको समर्थनसहित आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सोही दिन मुख्यमन्त्री नियुक्त गरेका थिए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक गरी ६० जना सांसदले कार्कीलाई समर्थन गरेका छन् ।












