Logo
Logo

उर्दु भाषामा नेपाली कविता अनुवाद सङ्ग्रह प्रकाशन



काठमाडौं । पाकिस्तान एकेडेमी अफ लेटर्स, इस्लामबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’ नाममा मूर्धन्य नेपाली साहित्यकारहरूका प्रतिनिधि कविताको अनुवाद सङ्ग्रह प्रकाशन गरेको छ । 

सङ्ग्रहमा धरणीधर कोइराला-नेपाल, महानन्द सापकोटा-अब, लेखनाथ पौड्याल- पिँजराको सुगा, गोपालप्रसाद रिमाल-आमाको सपना, सिद्धिचरण श्रेष्ठ-आफ्नो परिचय, भवानी भिक्षु-दुःखको कथा, केदारमान व्यथित-चङ्गा, माधवप्रसाद घिमिरे-काली गण्डकी, विजय मल्ल-छोरीलाई नक्सा पढाउँदा, भीमनिधि तिवारी-जाग एसिया जाग, मोहन कोइराला, सारङ्गी, जगदीश शम्सेर राणा-केटी शहर जान्छे, पारिजात-वरको रुख, भूपी शेरचन– मैनबत्तीको शिखा, ईश्वर वल्लभ-क्रुर विचारको कथा, वासु शशी-एउटा यस्तो फूल चाहिएको छ, द्वारिकालाल श्रेष्ठ-यी आँखाले खोजेका, वैरागी काइँला-विवाहित महिला कामदारको डायरी, रत्न शम्सेर थापा-एक अन्त्यहीन यात्रा, कृष्णभक्त श्रेष्ठ-मेरो पिँढी, तुलसी दिवस-बलेको दियोको तेल, कालीप्रसाद रिजाल-मेरो इच्छा, हरिभक्त कटुवाल-यो जिन्दगी खै के जिन्दगी समेटिएका छन् ।

त्यस्तै उपेन्द्र श्रेष्ठ-अँध्यारो र उज्यालोको कथा, भवानी घिमिरे-असल विचार, कुन्दन शर्मा-एउटा लामो बाटो, मदन रेग्मी-तिमी समुन्द्रको नजिक र टाढा, विमल कोइराला-फल मुन्तिया, एसपी कोइराला-शुरुआत, हरि अधिकारी-अधिकारको पूजा, पुरुषोत्तम सुवेदी-लडाइँको पक्षमा, व्याकुल माइला-काठमाण्डुमा हुने परिवर्तन, दिनेश अधिकारी-जाती, नवराज लम्साल-हरसालको एक उच्च हल्ला खल्ला, मोमिला-आफ्नो राष्ट्रिय मौन आवाजमा जस्ता १०८ वटा कविताको उर्दू भाषामा अनुवाद गरिएको छ ।

कविताहरूको अनुवाद जिया-उल-मुस्तफा तुर्क, सैयद कासिफ रजा, मुनिर फैयाजले गरेका हुन् । बाहिरी आवरणसहित तीन सय ८५ पृष्ठको उक्त कविता सङ्ग्रहको अनुवादमा पछिल्ला एक सय वर्षमा लेखिएका नेपालका मूर्धन्य साहित्यकारका कविताहरू समेटिएका छन् । 
 
पाकिस्तानको राष्ट्रभाषामा नेपालका साहित्यकारहरूको रचना प्रकाशन हुँदा नेपाली साहित्यकारहरुको रचना र पहिचान विस्तार हुने पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ । 

साथै यसबाट पाकिस्तानी साहित्यकारहरूलाई नेपाली साहित्यको स्वाद पस्किने अवसर मिल्नुका साथ दुई मित्र देशबीच साहित्यका माध्यमबाट सहयोग अदान-प्रदान हुने एवं द्विपक्षीय समझदारी वृद्धिमा समेत मद्दत मिल्ने पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ । 

नेपाली कविताहरूको अनुवाद प्रकाशनको कार्यमा नेपाली राजदूतावास, इस्लामबादले सहजीकरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्