Logo
Logo

कांग्रेसले बागमतीमा विश्वासको मत दिन्छ ?



हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसले सभामुख पाए मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई सशर्त विश्वासको मत दिने जनाएको छ । मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । यससँगै कांग्रेसले बागमती प्रदेशमा सभामुख पाए मुख्यमन्त्रीलाई विश्वासको मत दिने जनाएको हो ।

कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह लामा/फाइल फोटो

बागमतीका ७ दलमध्ये ५ दलको समर्थनमा नेकपा माओवादी केन्द्रबाट जम्मकट्टेल मुख्यमन्त्री बनेका हुन् । मंगलबार प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेसँगै बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिन कांग्रेसले सभामुख शर्त राखेको हो ।

कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह लामाले आफूहरुले मख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने तर त्यसका लागि कांग्रेसले सभामुख पाउनुपर्ने शर्त राखेका हुन् ।

केन्द्रमा प्रधानमन्त्रीले नै सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेपछि कांग्रेसले विश्वासको मत दिएको बताउँदै उनले भनेका छन्, ‘बागमतीमा पनि सरकारमा सहभागी भएपछि सभामुख हाम्रो भागमा पर्ने गरी छलफल भइरहेको छ ।’

तर, बागमतीमा सत्ता साझेदार दलबीच राप्रपालाई सभामुख दिने सहमति भइसकेको छ । त्यहीअनुसार राप्रपाले सरकारलाई समर्थन गरेको हो । बागमतीमा राप्रपा महामन्त्री भुवन पाठक सभामुख बन्ने तयारीमा छन् ।

जम्मकट्टेल प्रदेशसभाका ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनलाई एमालेका २७, नेकपा माओवादी केन्द्र केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन छ ।

जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत नदिएपनि मुख्यमन्त्री जम्मट्टटेलले विश्वासको मत पाउने निश्चित छ । ११० सदस्य रहेको बागमतीमा ३७ सिट रहेको कांग्रेस र ३ सिट रहेको नपाल मजदुर किसान पार्टी प्रतिपक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्