Logo
Logo

सरकारको ध्यान समृद्ध नेपाल : मुख्यमन्त्री अधिकारी


504
Shares

लेखनाथ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जुनसुकै सरकार गठन भए पनि समृद्ध नेपाल बनाउन सकिएन भने त्यो सरकारको कुनै अर्थ नरहने बताएका छन् ।

युनाइटेड क्लबद्वारा पोखराको अमरसिंह चौरमा आयोजित ११ औँ संस्करणको महोत्सवको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले त्यस्तो कुरा बताएका हुन् । आम नेपालीको चाहना समृद्ध नेपाल भएकाले अबको सरकार समृद्धितर्फ अगाडि बढ्न जरुरी भएको भनाइ उनको छ । 

रोजगारीको अवसर खोज्दै लाखौँ युवा विदेशिने गरेको भन्दै उनले उनीहरूलाई रोजगारीको सिर्जना नेपालभित्र नै गर्नेतर्फ तीनै तहको सरकार लाग्नुपर्नेमा जोड दिए । सरकारले आफ्ना कार्यक्रम बनाउँदा युवा लक्षित हुनुपर्ने भनाइ उनको छ । नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक देश भएकाले यहाँ हुने महोत्सवले सांस्कृतिकरूपमा ठूलो महत्त्व राख्ने बताउँदै मुख्यमन्त्री अधिकारीले महोत्सवको सफलताको कामना गरे । 

कोरोनाले थला परेको अर्थतन्त्र यस्ता मेला महोत्सव सञ्चालन हुँदा केही मात्रामा भए पनि अर्थतन्त्र चलायमान हुने विश्वास उनले व्यक्त गरे । ‘आज राष्ट्रिय एकता दिवस, पृथ्वीनारायण शाहले राष्ट्रलाई एक बनाएको दिन, सरकारले पनि सार्वजनिक बिदा दिएको छ’, मुख्यमन्त्री अधिकारीले भने, ‘राष्ट्रनायक पृथ्वीनारायण शाहलाई सबैले सम्झनुपर्ने बताउनुभयो ।’

आजदेखि सञ्चालन हुने उक्त महोत्सव माघ ८ गतेसम्म सञ्चालन हुनेछ । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तिले आफ्ना भनाइ राख्नुभएको थियो । महोत्सवको उद्घाटनअघि यस क्षेत्रका विभिन्न संघसंस्था तथा टोल तथा आमा समूहले झाँकीसहित बजार परिक्रम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्