Logo
Logo

बागमती प्रदेश : आज सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता



काठमाडौं । बागमती प्रदेशसभाको सभामुख र उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ताको लागि आज बिहान १०:३० बजेदेखि समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सभामुख पदका लागि सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएको छ । सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । राप्रपाले बुधबार पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सभामुखका लागि प्रतिपक्ष दल नेपाली कांग्रेसबाट भने टुंगो लागिसकेको छैन ।

प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार २:३० बजेदेखि ३:३० बजेसम्म उम्मेदवारी फिर्ता लिने र लगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । निर्विरोध भए पनि वा एक जनाभन्दा बढीको उम्मेदवारी परे पनि २९ गते प्रदेश सभाको बैठक बोलाउने र सोही दिन निर्वाचन गरेर परिणाम सार्वजनिक गर्ने तयारी छ ।

बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ गरी ११० जना सांसद छन् । सभामुख निर्वाचित हुन ५१ प्रतिशत मत पाउनुपर्छ ।

प्रदेशसभा नियमावली २०७४ मा पहिले सभामुखको निर्वाचन गरिसकेपछि मात्रै उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्