Logo
Logo

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई कांग्रेसले दिन्छ विश्वासको मत ?



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेस बाहेक ३३ सांसदको हस्ताक्षर सहित पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले भोली (शुक्रबार) विश्वासको मत लिन लागेका हुन् ।

संविधानअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएपनि उनले मुख्यामनत्र नियुक्त भएको ४ दिन पछि नै विश्वासको मत लिन लागेका हुन् ।

६० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक सांसद रहेका छन् ।  प्रदेश सभामा नेपाली कांग्रेसका २७ सदस्य रहेका छन्। 

केन्द्रको सरकार समिकरणले प्रदेश सरकार गठनमा पनि फेरबदल आएको छ । पुस १० गते नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डले पुस २६ गते (मंगलबार) विश्वासको मत लिएका छन् । मंगलबारको संसद बैठकमा अप्रत्यासित रुपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत उनको पक्षमा मतदान गरे ।

निर्वाचनको बेला कांग्रेससँगको गठबन्धन भएपनि सरकार बन्दा कांग्रेसको गठबन्धन तोडेर एमालेसँग गठबन्धन भएपछि केन्द्रदेखि सातवटै प्रदेशबाट कांग्रेस सत्ताबाट बाहिर परेको छ । तैपनि कांग्रेसले केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुमा राजनीतिक लाभ हुन सक्ने आँकलन गरिएको छ । केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रदेशमा के हुने भन्ने चर्चा सुरु भएको छ ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले पनि कांग्रेससँग समेत विश्वासको मत माग्ने बताएका छन् । ‘प्रदेशमा सहमतिको सरकार बनाउन प्रयास गर्छु । कांग्रेससँग पनि आग्रह गर्छु,’ उनले भने, ‘सबै मिलेर मात्रै प्रदेशको विकास हुन सक्छ ।’

कांग्रेसले भने मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय नभएको संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए । शुक्रबार नै बैठक बसेर निर्णयमा पुग्ने उनले बताए । कांग्रेसले शुक्रबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्