Logo
Logo

सिर्जना दुनुवार प्रदेश १ को उपसभामुख निर्वाचित



विराटनगर । प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन् । शनिबार प्रदेशसभा सचिवालयमा भएको उपसभामुख निर्वाचन प्रक्रियामा दनुवारको पक्षमा ५७ मत परेको हो । उनलाई उपसभामुख पदमा मत दिन्न भन्ने पक्षमा ३३ मत परेको थियो भने मतदानमा ९० जना सांसद सहभागी थिए ।

दनुवारको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईँ रहेका थिए । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य गरी ९३ सदस्य रहेका छन् ।

सत्ता गठबन्धन दल एमाले, माओवादी, राप्रपा र जसपाको गरी ६० मत हुन्छ । तैपनि सभामुख तटस्थ बसे भने एमालेका दुई सांसद अनुपस्थित थिए ।

यसअघि उपसभामुखकै लागि भएको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राईको पक्षमा ३३ मत परेको थियो । उनको विपक्षमा ५७ मत परेपछि राई उपसभामुखमा पराजित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका थिए ।

४६ वर्षीया दनुवार उदयपुरबाट समानुपातिक कोटाबाट निर्वाचित भएकी हुन् । संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ ।

संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।

सभामुखको निर्वाचन भएपछिमात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था अनुसार यसअघि नै सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्