Logo
Logo

प्रहरीमा शुद्धीकरण अभियान- हजार भ्रष्टमाथि कारबाही



काठमाडौं । एसपी रामेश्वर यादबको पहिचान प्रहरीमा ‘बर्दीधारी गुन्डा’को थियो । जहाँ सरुवा भएर गए पनि कमाउने बाहेक उनको दोस्रो उदेश्य हुँदैनथ्यो । हरेक जसो कार्यालयमा उनी कारबाहीमा समेत पर्दथे ।

राष्ट्रिय अनुसन्धान विभागबाट सोर्सफोर्सका आधारमा प्रहरीमा ल्याइएका यादब प्रहरी सेवाबाट बर्खास्तीको क्रममा छन् । प्रहरी सेवामा रहदा देशका लागि सेवा गर्नेभन्दा प्रहरी संगठनलाई बदनाम गराउन उनको धेरै योगदान रह्यो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हुँदा घुसकाण्डसम्बन्धि मुद्दामा सर्वाेच्च अदालतले हालै दोषी ठहर गरेपछि उनी बर्खास्त हुन लागेका हुन् । यादब इन्सपेक्टरदेखि नै घुसकान्डमा मुछिदै आएका थिए । तर, कारबाहीबाटै जोगिए । घुस खाएको पैसा नेतालाई बुझाउने र सरुवा–बढुवा मिलाउने उनको शैली थियो ।

शैलेश थापा आइजीपी भएपछि दुई वर्षअघि उनलाई निलम्बन गरे । कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुखका रुपमा आफ्नै मातहतका कार्यालयसँग रेट नै तोकेर पैसा उठाएको खुलेपछि उनलाई ६ महिना निलम्बन परे । कडा कारबाही गर्न गृहमा सिफारिस भएकोमा पछि चलखेल गरेर सामान्य कारबाहीबाट उम्किए ।

कारबाही सकिएलगत्तै जिल्ला इन्चार्जमा जान चलखेल सुरु गरे । तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले उनलाई सिन्धुपाल्चोक पठाउन सिफारिस गरे । त्यस्ता बदनाम अधिकृतलाई पठाउन नमिल्ने आइजीपीको अडान थियो । उनले ६ महिनासम्म सरुवा गरेनन् ।

जसकारण सिन्धुपाल्चोकका एसपीको सरुवा हुन डेढ वर्ष लाग्यो । पछि आइजीपीको अडानको केही लागेन । किनकि, एसपी सरुवाका लागि गृहमन्त्री निकट व्यक्तिहरुलाई एडभान्स बुझाइसकेका थिए । कांग्रेस नेता महेन्द्र यादबमार्फत यसरी गृहमा सेटिङ मिलाएका थिए ।

उनले सिन्धुपाल्चोक गएलगत्तै क्रसर खानीसँग असुली धन्दा सुरु भइसकेको थियो । तर, पनि गृहमन्त्रीकै संरक्षणका कारण उनीमाथि कारबाही हुन सकेको थिएन । जबकी पैसा उठाउने उनका घुमुवा भने कारबाहीमा परे । अहिले २०७१ सालको घुसमुद्दामा चार महिना कैद सजाय भएपछि उनी कुर्सीमा रहँदा रहँदै फरार अभियुक्त बनेका छन् ।

रुपन्देहीमा हुँदा लागुऔषध मुद्दामा अभियुक्त छुटाउन जवानमार्फत उनले एक लाख घुस लिएका थिए । बिशेष अदालतले सफाई दिएपछि प्रहरी सेवामा जोडिएकोमा सर्वाेच्च अदालतको फैसलासँगै बर्दीमै उनी अभियुक्त बनेका हुन् ।

प्रहरीमा रामेश्वरजस्ता धेरै बदनाम अधिकृत छन्, जसले राजनीतिक पहुँचका आधारमा पवित्र बर्दीलाई असुलीको माध्यम बनाएका छन् । त्यस्ता अधिकृतहरु पछिल्लो समय डराएका छन् । प्रहरी प्रधान कार्यालयले भ्रष्ट अधिकृतहरुमाथि निगरानी र कारबाही बढाएपछि धन्दावाल प्रहरीको निदहराम भएको छ ।

तीन साताअघि मात्र प्रहरी प्रधान कार्यालयले बुटवलका डीएसपी ठगबहादुर केसीलाई पक्राउ गरेको छ । बरामद भएको सुन आफैंले राखेको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । उनको साथबाट स्रोत नखुलेको सुन र नगद पनि बरामद भएको छ । उनलाई निलम्बन गरी विस्तृत छानबिन सुरु भएको छ ।

केसी तत्कालीन गृहमन्त्री बालृकष्ण खाँणका भाइ रामकृष्ण खाँणको आडमा बुटवलमा अनेक धन्दामा संलग्न थिए । असुलीको पैसा नेतालाई बुझाउने गरेका कारण उनीमाथि छानबिनसमेत हुन सकेको थिएन । सरुवा भएर जान लागेका बेला स्रोत नखुलेको सुन र नगदसहित उनी पक्राउ परेका हुन् ।

त्यस्तै, पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेल पनि एक वर्षमा दोस्रोपटक कारबाहीको दायरामा तानिएका छन् । तस्करीको लाइन खुलाएको प्रमाण भेटिएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन थालेको छ । तस्करीमा संलग्न दुई घुमुवासँग उनको शंकास्पद सम्बन्ध देखिएको छ ।

यसअघि पाल्हिनन्दन गाउँपालिकाका मेयरसँग मिलेर दुई भारतीयलाई उनले लागुऔषध मुद्दामा फसाएका थिए । त्यतीबेला नै आइजीपी धिरजप्रताप सिंहले उनलाई हटाउन खोजेका थिए । तर, कांग्रेस नेता देवेन्द्रराज कँडेलले गृहमन्त्रीलाई दबाब दिएर चुनावसम्म राख्न आग्रह गरेका थिए ।

त्यही आडमा एसपी कँडेलले तस्करीको लाइन खुलाएका हुन् । अहिले पनि ठूलो कारबाहीबाट जोगिन उनको दौडधुप छ । तर, खराब आचरणका प्रहरीमाथि कारबाही गर्न यतिबेला राजनीतिक दबाब पनि कम भएकाले प्रहरी नेतृत्वलाई सहज छ ।

सहजताकै कारण प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले शुद्धीकरण अभियानलाई तीव्रता दिएका छन् । नवनियुक्त गृहमन्त्री रवि लामिछाने पनि गत साता प्रहरी प्रधान कार्यालयको निरीक्षणमा कुनै प्रहरी अधिकारीले घुस खाएमा सुरुमा उनका हाकिमलाई कारबाही गर्ने चेतावनी दिएका थिए । उनले राम्रा अधिकृतलाई साथ दिन्छन् कि दिदैनन् भन्ने चाँही हेर्न बाँकी छ ।

को को कारबाहीमा परे ?
पछिल्लो ६ महिनामा एक हजारभन्दा धेरै प्रहरी अधिकृत कारबाहीमा परेका छन् । कारबाहीमा पर्ने सिनियर अफिसरमा एसपी ऋषिराम कँडेल, डीएसपी खर्ग नारायण शाह लगायत छन् ।

लागुऔषध मुद्दामा फसाइएको घटनामा एसपी कँडेललाई सचेत गराइएको छ । त्यस्तै स्याङजाको इप्रका चापाकोटमा कार्यरत रहँदा डीएसपी खर्गनारायण शाहले हप्ता असुली गरेको आधार देखिएपछि उनलाई नसियत दिइएको छ । उनको कार्यसम्पादन पनि निकै कमजोर देखिएको छ ।

इप्रका टीकापुरका इन्सपेक्टर अरुण बमले सुन नै लुकाएको विषयमा छानबिन भएको थियो । सुन बरामद गर्दा एक किलो सुन उनले लुकाएको आरोप लागेको छ । छानबिनको क्रममा मुचुल्का गर्दा ध्यान नदिएको पाइएको छ । उनलाई सचेत गराइएको छ ।

त्यस्तै इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीले घुस खाएको पुष्टि भएपछि उनलाई तीन ग्रेड घटुवा गरिएको छ । उनले मुद्दा मिलाइदिने भन्दै चन्दनकुमार मिश्रसँग १ लाख ५० हजार रुपैयाँ मागेका थिए । त्यसमध्ये ३० हजार लिएको पुष्टि भएको थियो ।

सर्लाहीको इप्रका केशरजंगका इन्सपेक्टर रोशन थापाले त लागुऔषधका अभियुक्त नै फेरेका थिए । लागुऔषधसहित पक्राउ परेका व्यक्तिलाई सुरुमा छाडेर पछि अर्काे व्यक्तिलाई उपस्थित गराई आर्थिक चलखेल गरेका थिए । उनको तीन ग्रेड घटुवा भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत इन्सपेक्टर भूपेन्द्र गिरी पनि कारबाहीमा परेका छन् । उनले आचारसंहिता उल्लंघन गरेकाले कारबाही स्वरुप सचेत गराइएको प्रहरी स्रोत बताउँछ । जिप्रका पश्चिम नवलपरासीका इन्सपेक्टर धर्मराज खत्री पनि कारबाहीमा परेका छन् ।

पाल्हिनन्दन गाउँपालिकाका मेयर बैजुप्रसाद गुप्ताको योजनामा दुई भारतीयलाई लागुऔषध मुद्दामा फसाइएको थियो । मुद्दा शाखामा कार्यरत इन्सपेक्टर खत्री सो घटनामा एसपीको योजनामा फसेका हुन् । घटनाको बारेमा जानकारी नभएपनि अनुसन्धान अधिकृतका रुपमा लापरबाही गरेकाले उनी पनि कारबाहीमा परेका हुन् ।

इलाका प्रहरी कार्यालय दमकमा कार्यरत एक इन्सपेक्टरले आफ्नै महिला प्रहरीमाथि यौन दुव्र्यवहार गरेका छन् । इन्सपेक्टर रमेश वनले दुव्र्यवहार गरेका हुन् । उनलाई एक तबलबृद्धि रोक्काको कारबाही भएको छ । महिला प्रहरीको उजुरीका आधारमा नउी कारबाहीमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वमा कार्यरत इन्सपेक्टर गणेश पाण्डेले युनिफर्मको फोटो सामाजिक सञ्जालमा दुरुपयोग गरेकामा कारबाहीमा परेका छन् । उनलाई सचेत गराइएको छ ।

त्यस्तै बरामद सुन लुकाएको आरोपमा वरिष्ठ सइ धर्मानन्द भट्ट, सुन तस्करीको घटनामा चलखेल गरेको आरोपमा वरिष्ठ सइ टंक कार्की, वीरगञ्ज नाकामा तस्करी गरेको आरोपमा वरिष्ठ सइ हिमाल भण्डारी कारबाहीमा परेका छन् ।

सिन्धुपाल्चोकमा अवैध उत्खननको धन्दामा मिलेमतोको आरोपमा वरिष्ठ सई लेखनाथ आचार्यमाथि समेत कारबाही भएको छ । वरिष्ठ सइहरु किरणमणी अधिकारी, ज्ञान बहादुर राना, जेजंग कार्की पनि आचारणविपरीतको गतिविधिमा संलग्न भएपछि कारबाहीमा परेका छन् ।

सइहरु दौलत सिंह पूजारा, राज किशोर साह, शंकर खड्का, जनक तामाङ, सन्तोष बस्नेत, गोकर्ण चौहानमाथि कारबाही भएको प्रहरी स्रोत बताउँछ ।

असइहरु भविन्द्रप्रसाद सुवेदी, भानुभक्त बजगाई, पदम भट्टराई, नवराज सापकोटा, आश्विन ढकाल, ठाकुर पनेरु, जितेन्द्र वली, राज मंगल महतो पनि कारबाहीमा परेका छन् ।

केही सिनियर अधिकृतहरु समेत छानबिनमा रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । तराईका जिल्लामा तस्करीको लाइन खोल्ने अधिकृतहरु विशेष निगरानीमा परेका छन् । तस्करीमा केही डिआइजीहरुसमेत संलग्न रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्