Logo
Logo

सबै विमानलाई अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन


819
Shares

काठमाडौं । सरकारले सबै विमानको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । यती एयरलाइन्सको विमान दुर्घटनापछि आइतबार आकस्मिक बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो ।

प्रधानमन्त्रको सरकारी निवास बालुटारमा बसेको बैठकले सबै विमानहरुको अनिवार्य परीक्षण र त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेको छ ।

साथै, बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दार कार्यलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्रहरूलाई निर्देशित गरेको छ । मन्त्रिपरिषद बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठनसमेत गरेको छ । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ ।

साथै, बैठकले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । दुर्घटना परी ज्यान गुमाएकाको पार्थीव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।

आइतबार बिहान काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका सदस्यसहित ७२ जना यात्रु सवार थिए ।

बैठकले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्