
काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परी पत्रकार त्रिभुव पौडेल र लोक दोहोरी गायिका नीरा छन्त्यालको मृत्यु भएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षसमेत रहेका पौडेलको दुर्घटनामा निधन भएको महासंघले पुष्टि गरेको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पौडेलको निधनले महासंघ स्तब्ध र शोकमग्न भएको जनाएको छ । महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेका छ ।
पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको हो । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रीन्जरका रूपमा काम गरेका थिए ।
विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक तथा सम्पादकका रूपमा कार्यरत थिए । पौडेलका आमा, श्रीमती र एक छोरा छन् ।
त्यसैगरी, लोकदोहोरी गायिका नीरा छन्त्यालको पनि निधन भएको परिवारले पुष्टि गरेको छ । माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजित कार्यक्रमका लागि काठमाडौंबाट पोखरा प्रस्थान गरेका उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरेका हुन् ।
पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको तस्वीर र शुभकामना पोस्ट गर्दै ‘भोलि पोखरामा रमाइलो गर्नुपर्छ’ भनेर स्टाटस लेखेका थिए ।
नीरा ‘लाइभ दोहोरी’ मा चर्चित थिइन् । उनका लाइभ दोहोरीहरु निक्कै चर्चित छन् । उनी पाँच वर्षयता लोक तथा दोहारी गायनमा सक्रिय थिइन् ।
दुर्घटनामा ६९ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ ।
आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । विमानमा चालक दलका ४ सहित ७२ जना यात्रु थिए ।











