
काठमाडौं । नेकपा माओवादी केन्द्रका भीम भण्डारी सुदूरपश्चिम प्रदेश सभामुख निर्वाचित भएका छन् ।
तीन पटकको मतदानपछि आज माओवादीका भण्डारी सभामुख निर्वाचित भएका हुन् । भण्डारीले २९ मत पाउँदा नेपाली कांग्रेसका मानबहादुर रावलले २० मत पाए । आज ५२ जना सांसदले मतदानमा भाग लिएका थिए ।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निवार्चित हुन २७ मत आवश्यक पर्दथ्यो। तर, यस अघि प्रदेशमा सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सभामुख चयन हुन नसकेको हो ।
आजको बैठकमा भने नागरिक उन्मुक्ति पार्टीले सत्ता साझेदार दल माओवादीलाई मत दिने निर्णय गरेको थियो । संविधानले दिएको समय सीमा हिजै सकिए पनि पोखरामा भएको विमान दुर्घटनाका कारण सरकारले देशभर शोक बिदा दिइएको थियो । सोही कारण हिजोको बैठक स्थगित भएको थियो ।














