काठमाडौं । नेकपा एमालेले नयाँ बन्ने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा भागबण्डा मिलेपछि एमालेले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने ४ मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

अब एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी, हरि उप्रेती मन्त्री बन्नेछन् । एमालेले राईलाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । त्यस्तै पदम गिरी स्वास्थ्यमन्त्री र भगवती चौधरी महिला, बालबालिकामन्त्री तथा सर्लाहीका हरिप्रसाद उप्रेती रक्षामन्त्री बन्ने भएका छन् ।
यसअघि उपमहासचिव विष्णु पौडेल उपप्रधान सहित अर्थमन्त्री नियुक्त भइसकेका छन् । त्यस्तै दामोदर भण्डारी, राजेन्द्र राई र ज्वाला साहले पनि यसअघि नै बिना विभागिय मन्त्रीको शपथ ग्रहण गरिसकेका छन् ।
बैतडीबाट निर्वाचित भण्डारीलाई एमालेले उद्योग तथा बाणिज्य मन्त्रालयको जिम्मेवारी दिएको छ । अन्य मन्त्रीहरुको भने मन्त्रालय टुंगो लागेको छैन ।














