
काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौं ल्याइएको छ ।
दुर्घटनामा परि ज्यान गुमाएका २५ जनाको शव नेपाली सेनाको एमआई-१७ हेलिकोप्टरमार्फत भर्खरै काठमाडौं ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । क्यानका अनुसार बाँकी २३ शव भने अर्को हेलिकोप्टरबाट काठमाडौं ल्याइने क्रममा छ ।
दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले जनाएको छ । क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार शव बोकेको सेनाको हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
विमानस्थलबाट शव शिक्षण अस्पतालमा लगेर परीक्षणपछि आफन्तलाई बुझाइने प्रवक्ता निरौलाले बताए । थप शव लिन सोही हेलिकोप्टर पोखरा जानेछ ।
विमानमा सवार ७२ यात्रुमध्य दुई जना अझै अज्ञात नै छ । दुर्घटनामा बेपत्ताको खोजी कार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेको क्यानले छ ।











