Logo
Logo

नेपालमा हरेक वर्ष हवाई दुर्घटना, आइकाओले थप कारबाही गर्ने जोखिम


504
Shares

काठमाडौं । नेपालमा हरेक वर्षजसो हवाई दुर्घटना हुँदै आएको छ । पर्यटन मन्त्रालयको तथ्याङकअनुसार नेपालमा अहिलेसम्म ६० हवाई दुर्घटना भएका छन् । जसमध्ये ३५ आन्तरिक र आठ अन्तर्राष्ट्रिय जहाज तथा १७ हेलिकोप्टर दुर्घटनामा परेका छन् । जसमा ८ सय ९७ जनाले ज्यान गुमाएका छन् ।

आइतबार पोखरामा यतीको एटिआर ७२ जहाज दुर्घटनामा आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठूलो दुर्घटना हो । एटिआर जहाजको उडान नेपालमा सुरक्षित मानिने भए पनि यो घटनाले हवाई क्षेत्रलाई असुरक्षित बनाएको छ । यसले नेपालको पर्यटन क्षेत्रलाई पनि ठूलो धक्का लाग्ने निश्चित छ ।

नेपालमा पहिलोपटक १९५५ मा कालिंगा एयरको जहाज सिमरामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

नेपाली आकाशमा अन्तर्राष्ट्रिय उडानका आठ विमान दुर्घटनामा परिसकेका छन् । ती दुर्घटनामा तीन सय ७३ यात्रुले ज्यान गुमाएका थिए भने तीन सय ८५ जना घाइते भएका थिए ।

१५ मे १९५६ मा इन्डियन एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना हुँदा १४ यात्रुको ज्यान गएको थियो । यस्तै, २४ मार्च १९५८ मा इन्डियन एयरलाइन्सकै जहाज पत्नेभञ्ज्याङमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।

३१ जुलाई १९९२ थाई एयरवेजको जहाज नुवाकोटको घ्याङफेदीमा दुर्घटना हुँदा एक सय १३ यात्रुको ज्यान गएको थियो । २८ सेप्टेम्बर १९९२ मै पाकिस्तान एयरलाइन्सको जहाज ललितपुरको भट्टेडाँडामा ठोक्किँदा एक सय ६७ जनाले ज्यान गुमाएका थिए  ।

४ मार्च २०१५ मा टर्किस एयरको वाइडबडी जहाज त्रिभुवन विमानस्थलमा ठूलो दुर्घटना हुनबाट बचेको थियो । त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा रनवेभन्दा बाहिर जाँदा दुई सय ३५ यात्रु घाइते भएका थिए । त्यो समय जहाज धावनमार्गमा अड्किँदा तीन दिनसम्म विमानस्थल बन्द गर्नुपरेको थियो  । त्यस्तै २०१८ को मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै एयर बंगला दुर्घटनामा परेको थियो ।

आन्तरिकतर्फ नेपालमा हिमाली र पहाडी क्षेत्रमा धेरै दुर्घटना भएका छन् । लुक्ला, सिमकोट, जुम्ला, मुस्ताङलगायत दुर्गम गन्तव्यको उडानमा बढी दुर्घटना भएको पर्यटन मन्त्रालयको तथ्याङक छ । पोखरा–मुस्ताङ उडानमा सबैभन्दा धेरै चारवटा जहाज दुर्घटना भएका छन् ।

नेपालमा हेलिकोप्टर सेवा पनि सुरक्षित छैन । नेपालमा १७ वटा हेलिकोप्टर दुर्घटनामा ८५ जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै फिस्टेल हेलिकोप्टर आठ ठाउँमा दुर्घटनामा परेको छ  । अधिकांश हेलिकोप्टर दुर्घटना पहाड र हिमाली भेगमा भएका छन् । चार वर्षअघि हेलिकोप्टर दुर्घटनामा तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले नै ज्यान गुमाएका थिए ।

यसरी दुर्घटना बढेपछि नेपालमाथि हवाई क्षेत्रमा नियमन गर्ने अन्तर्राष्ट्रिय निकाय आइकाओले समेत थप कारबाही गर्ने जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्