काठमाडौं । जनमत पार्टीले आकस्मिक बैठक बोलाएको छ । पार्टीका अध्यक्ष सीके राउतले आकस्मिक बैठक बोलाएका हुन् ।
गठबन्धनमा यसअघि उद्योग मन्त्रालय दिने सहमति भए पनि आज खानेपानी मन्त्रालय जिम्मा लगाइएपछि जनमत पार्टी असन्तुष्ट बनेको छ ।

मन्त्रालयहरुको भागबण्डाको विषयलाई लिएर जनमत पार्टीका नेताहरु छलफलमा छन् । सरकारमा सहभागी हुने कि नहुने, सो मन्त्रालय लिने कि नलिने सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा निर्णय गर्न बैठक छलफल हुने बताइएको छ ।
जनमत पार्टीका एक नेताले भने- ‘अहिले हामी छलफलका क्रममा नै छौँ। बैठकले के निर्णय गर्छ त्यसपछि हाम्रो मन्त्रीजीले जिम्मेवारी सम्हाल्ने कि सरकारबाट निस्किने भन्ने हुन्छ ।’
उक्त पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति वा कृषि मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको थियो । तर, मंगलबार मन्त्रिपरिषद् विस्तारका क्रममा जनमत पार्टीका अब्दुल खानलाई खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएका छ । खानले तोकिएको जिम्मेवारी सम्हालेका छैनन् ।











