काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

सभामुख निर्वाचनको लागि उम्मेदवार मनोनयनको पूर्वसन्ध्यामा देउवाले माधव र उपेन्द्रसँग धुम्बाहरीमा छलफल गरेका हुन् ।
सत्ता गठबन्धनमा जसपालाई सम्मानजनक भाग नदिइएपछि उपेन्द्र यादव असन्तुष्ट छन् । उनले सरकारमा सहभागिता जनाएका छैनन् ।
कांग्रेसले गठबन्धनबाट जसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायतलाई आफूतिर तान्न खोजिरहेको छ । राष्ट्रपति चुनावलाई समेत मध्यनजर गरेर कांग्रेसले आफ्नो गठबन्धन बलियो बनाउन खोजेको हो । आजै कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
पदाधिकारी बैठक बस्नुअघि बुधबार बिहान देउवाले माधव र उपेन्द्रसँग छलफल गरेका हुन् । देउवासँग सामान्य छलफल भएको उपेन्द्र यादवले जानकारी दिए ।














