Logo
Logo

यी हुन् कांग्रेस र एमालेबाट सभामुखका आकांक्षी


3.1k
Shares

काठमाडा । संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम सार्वजनिक गरेको छ  । निर्वाचन कार्यक्रमअनुसार आज (बुधबार) १ देखि ४ बजेसम्म दलहरूले सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुपर्नेछ ।

नयाँबानेश्वरस्थित संसद् भवनको लोत्से हलमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ (२) बमोजिम दलले कुनै सांसदलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गराउनुपर्ने कार्यतालिका छ । प्रस्तावक र समर्थकसहित उम्मेदवारको प्रस्ताव दर्ता भएपछि ४ः१५ बजे संसद् सचिवालयले सबै उम्मेदवारको दर्ता क्रमानुसार सूची प्रकाशित गर्ने कार्यक्रम छ ।

सातदलीय सत्तागठबन्धनको भागबन्डामा सभामुख पाएको एमालेले झापा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ  । सभामुखमा एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि आकांक्षी थिए  ।

त्यस्तै नेपाली कांग्रेसले भने अहिलेसम्म उम्मेदवारी दिने कि नदिने भन्ने निर्णय गरेको छैन । सभामुखको निर्वाचनका विषयमा छलफल गर्न सभापति देउवा निवास धसम्बाराहीमा कांग्रेसको पदाधिकारी बसिरहेको छ ।

बैठकले पार्टीकै उम्मेदवार बनाउने कि एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय गर्नेछ । कांग्रेसमा विमलेन्द्र निधि र अर्जुननरसिंह केसी सभामुखको उम्मेदवारका आकांक्षी छन् ।

भोली (बिहीबार) ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उम्मेदवारको प्रस्तावकले सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्नुपर्नेछ  । त्यसपछि उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुनेछ  । छलफलपछि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दर्ता क्रमानुसार प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गनछन् ।

बिहीबार सभामुख निर्वाचित गरेर सोही दिन शनिबारलाई उपसभामुखको निर्वाचन मिति तोक्ने तयारी प्रतिनिधिसभाको छ  । शुक्रबार उपसभामुखको मनोनयन दर्ता र शनिबार निर्वाचन गर्ने तयारी रहेको संसद् सचिवालयका अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्