
काठमाडौं । बधाईका नाममा खादा र माला नलाउने निर्णय गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कार्यकक्षमा ‘दान पेटिका’ राखेका छन् ।
अनावश्यक खर्च हुने भन्दै बधाई दिन आउनेलाई खादा र माला नल्याउन अनुरोध गरेका मन्त्री किरातीले खादा र मालामा हुने खर्च उक्त दान पेटिकामा खसाल्न अनुरोध गरेका छन् । उक्त दान पेटिकामा संकलन हुने रकम दुर्गम क्षेत्रको शिक्षाका लागि सदुपयोग गर्ने मन्त्री किरातीले घोषणा गरेका छन् ।

मन्त्री किरातीले भने– ‘मलाई जनता र आम शुभेच्छुकको अथाहा माया छ । मलाई भेट्न आउनुहुने आम शुभेच्छुकसँग आग्रह गर्दछु– खादा, माला किन्दा हुने खर्च मेरो कार्यकक्षमा राखिएको दान पेटिकामा खसालि दिनुहोस्, त्यसले दुर्गम क्षेत्रको शिक्षामा थोरै भए पनि सहयोग पुग्छ ।’
मंगलबार पदभार सम्हालेका मन्त्री किरातीले बुधबार बिहानै कार्यकक्षमा दान पेटिका राखेका हुन् । भेटघाट तथा बधाई दिन आउने आगन्तुकले उक्त दान पेटिकामा दान गर्न थालेका छन् ।














