काठमाडौं । श्रम तथा रोजगारमन्त्री डोलप्रसाद अर्यालले आफू मेनपावर व्यवसायी नभएको प्रष्टीकरण दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रममन्त्री बनेका अर्यालमाथि विभिन्न प्रश्न उठेपछि उनले आफू मेनपावर व्यवसायी नभएको भन्दै प्रष्टीकरण दिएका हुन् ।

श्रममन्त्रीको शपथ लिएको भोलिपल्ट बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू सञ्चारमाध्यममा आएजस्तो कुनै पनि म्यानपावर कम्पनीमा संलग्न नरहेको दावी गरेका हुन् ।
उनले स्टाटसमा लेखेका छन्, ‘म यो देशको सामान्य नागरिक । अवसर खोज्दै संघर्ष गर्दै १५ वटाभन्दा बढि पेशा र ब्यवशायमा लड्दै, उठ्दै, आबद्द, संलग्न, सक्रिय, निष्क्रिय हुँदै यहाँ आइपुगेको आम मान्छे हुँ । तर, म्यानपावर कम्पनीमा म कहिले पनि छैन ।’ उनले देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै थोरै संलग्नता रहेकाले आफ्नो स्वार्थ नबाझिने कुनै क्षेत्र नरहेको उनको भनाइ छ ।
‘गरिखाने मान्छे हुँ, थोरै थोरै धेरैमा छु । तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन । हो साथीहरुले एउटा कम्पनीमा सल्लाहकार राख्यौं है भनेर इन्टरनेसनल मार्केटिङ डाइरेक्टटरको पद लेखिदिए’ उनले भनेका छन्, ‘तर, हटाइदिन भुले । तर, त्यो कम्पनीमा न मेरो लगानी छ न संलग्नता, न सेयर, न स्यालरी । समाचार बनाउनेहरुले भन्दिनुस न त मेरो कुन म्यानपावरमा कहिले कति सेयर थियो ?’














