काठमाडौं । झन्डै तीन वर्षदेखि रोकिएको काठमाडौं-बेइजिङ सिधा हवाई उडान फेरि सुरु भएको छ । सन् २०२० को मार्चपछि हिजो मङ्गलवार पहिलो पटक हिमालय एअरलाइन्सले काठमाडौं–बेइजिङ उडान गरेको हो ।

चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाण्डौ–बेइजिङमा उडानको अनुमति दिएको थिएन । अब हिमालय एअरलाइन्सले विश्वकै प्रख्यात बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने जनाएको छ ।
आउँदो फेब्रुअरी ११ तारिखदेखि हरेक शनिवार काठमाण्डौ–बेइजिङ उडान हुने एअरलाइन्सले जानकारी दिएको छ । यो रुटमा उडानको अवधि तीन घण्टा ४८ मिनेटको रहेको छ ।
चिनियाँ नयाँ वर्षको उत्सव र बिदाको समय चलिरहेकाले यो मौकामा हुने काठमाण्डौ–बेइजिङ उडानले नेपालको पर्यटन र व्यापारको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा छ ।














