काठमाडौं । झापा-२ बाट निर्वाचित सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई हराउँदै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एमालेका घिमिरे निर्वाचित भएका हुन् ।

२०१३ जेठ १३ मा ताप्लेजुङ सिकैचा ३ मा जन्मिएका घिमिरेले स्नातक अध्ययन गरेका छन् । घिमिरे यसअघि राष्ट्रियसभा सदस्य भइसकेका छन् । एमालेका स्थायी कमिटी सदस्य रहेका उनी २०५६ मा राष्ट्रिय सभा सदस्य भएका थिए ।
अर्जुनधारा नगरपालिका वडा ६ झापाका उनी २८ हजार ७ सय १६ मत ल्याउँदै झापा २ बाट निर्वाचित भएका हुन् । उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ६१ मतले पराजित गरेका हुन् ।
२०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, २०७८ मा भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भएका थिए । उनी अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुन् । घिमिरेलाई ओलीका सबैभन्दा निकटमध्येका नेताको रुपमा चिनिन्छ ।














