काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले विपक्षी गठबन्धनबाट प्रतिनिधिसभाको सभामुख उम्मेदवार बनेकी ईश्वरी न्यौपानेलाई मतदान गर्ने जनाएको छ ।
पार्टीका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले बिहीबार सभामुखको उम्मेदवारमाथि प्रतिनिधिसभा बैठकमा बोल्दै अहिले पनि प्रतिगमन नसच्चिएकाले न्यौपानेको पक्षमा मतदान गर्ने बताएका हुन् ।

नयाँ सरकार गठनका बेला धेरै नाटक देखिएको बताउँदै उनले पहिलाभन्दा यसपटको संसद र सरकार निर्माणको प्रक्रियाले झन अप्ठेरो अवस्थामा पुगेको बताए ।
उनले भने, ‘निर्वाचनका बेला लोकतन्त्र संस्थागत गर्न सकेनौ, बेकम्मा भयौं, गणतन्त्रका लागि लडेका, पञ्चायतविरोधी लडेका हामी निकम्मा भयौ भनेर हल्ला चलेको थियो र नयाँ आउनुपर्छ भनिएको थियो । तर नयाँको स्थिति पनि देखियो ।’
उनले राष्ट्रिय जनमोर्चा अहिले पनि प्रतिगमन सच्च्यिो भन्ने पक्षमा नरहेको बताउँदै प्रश्न गरे, ‘कांग्रेस किन प्रतिपक्षमा बस्न सकेन ?’ तर जे भएपनि छातिमा मुड्की हानेर भएपनि इश्वरी न्यौपानेलाई सभामुखमा आफ्नो समर्थन रहेको उनले बताए ।














