Logo
Logo

शान्ति सुव्यवस्थादेखि चिसोबाट नागरिक जोगाउन सरकारसमक्ष आग्रह


441
Shares

काठमाडौं । राष्ट्रिय सभामार्फत् सरकारलाई देशको शान्ति सुव्यवस्था, शान्तिप्रक्रिया, भ्रष्टाचार न्यूनीकरण, सुशासन, सडक यातायात र यात्रा  तथा  चिसोबाट नागरिकलाई राहत पुर्‍याउन चाल्नुपर्ने कदमका बारेमा ध्यानाकर्षण गराइएको छ ।

 
राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले नवगठित राष्ट्रिय एकताको सरकारले मुलुकलाई विकास, समृद्धि र सुशासनतर्फ अघि बढाउन  ढोका खल्ला भएको धारणा राखे ।
 
नेकपा (माओवादी केन्द्र)का नरबहादुर विष्टले नवगठित राष्ट्रिय एकताको सरकारलाई मुलुकको शान्ति सुरक्षा, शान्ति प्रक्रिया, विकास, सुशासन र समृद्धिको मुख्य लक्ष्य बनाएर काम गर्न सुझाव दिए । उनले भने, ‘सबै उमेर समूहका व्यक्ति समेटिएको वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको आकाङ्क्षालाई सम्बोधन गर्न सक्षम हुनेछ ।’

नेपाली कांग्रेसका कमलादेवी पन्तले मुलुकको सडक यातायात अस्तव्यस्त र पीडा दायिक रहेकाले तत्काल सुधारको आवश्यकता औँल्याए ।  उनले भने, ‘यात्राका लागि टिकट पाइन्न, कोचाकोच हुँदा महिला हिंसा हुन्छ, महिलाको अस्मिता जोगाउन कठिन छ, भाडादर मुखको बोलीअनुसार छ, यसमा सरकारको विशेष ध्यान पुगोस्, ई-टिकटको व्यवस्था गरियोस् ।’

एमालेका तुलसादेवी दाहाल देशभित्रको आन्तरिक बसाइँसराइले  भूगोलका आधारमा जनसङ्ख्याको सन्तुलन र सामाजिक विविधतामा असर परेकाले बेलैमा त्यसको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए ।

 उनले भने, ‘भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्नु  आजको प्राथमिकता हो, तराईमा भइरहेको शीतलहर र हिमाली क्षेत्रमा बढिरहेको चिसोबाट नागरिकलाई जोगाउन  न्यानो कपडा र दाउराको व्यवस्था गर्न आवश्यक छ ।’
 
नेकपा (एकीकृत समाजवादी)का गरिमा शाह नेपाली तीर्थयात्रु बोकेर गएको बस भारतको लखनउमा दुर्घटना हुँदा त्यसमा सवारको निधन भएकामा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरे ।
 
माओवादीका बिना पोखरेलले नयाँ सरकार इन्द्रेणीरुपमा राष्ट्रिय सरकारका रुपमा परिणत भएकाले सबै नेपाली जनतामा उत्साह बढेको धारणा राखे । उनले भने, ‘यो सरकार सुशासन दिन सक्षम हुनेछ, मुलुकलाई समृद्धिमा लैजाने ठूलो अवसर मिलेको कुरा प्रधानमन्त्रीले प्राप्त मतले पुष्टि गरेको छ ।’ 

एमालेका सुमित्रादेवी बिसीले आवश्यक सुरक्षा सतर्कता अपनाउन नसक्दा मुलुकमा हवाई दुर्घटना पटक-पटक दोहोरिएको बताए । उनले भने, ‘हवाई यात्रालाई विश्वसनीय र भरपर्दो तुल्याउन उडाउन अघि प्राविधिक परीक्षणलाई कडाइका साथ लागू गर्न आवश्यक छ । नेकपा एकीकृत समाजवादीका राजेन्द्रलक्ष्मी गैरे नीति र विधि अधुरो रहेकाले प्रदेश सरचना अझै अस्तव्यस्त रहेको बताउनुभयो । उनले भने, ‘मुलुकको शान्ति सुव्यवस्थामा खटिएका नेपाल प्रहरीको आफ्नै व्यवस्थापन निकै  अप्ठ्यारोमा छ, त्यसमा सुधार आवश्यक छ, राहदानी वितरणमा पनि सहज र सरल हुनुपर्छ ।’ ए

नेपाली कांग्रेस शारदादेवी भट्ट देशमा सबैभन्दा बढी पीडामा किसान रहेकाले उनीहरुलाई खेतीपातीमा सहयोग पुर्‍याउन समयमै मलखाद्य उपलब्ध गराउनेतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘अहिलेको सरकारलाई  काम गर्न दिएन, गर्न सकिएन भन्ने छुट छैन, सबैले निकै आशा र भरोसा राखेका छन् ।’

नेपाली कांग्रेसका नारायणदत्त मिश्रले काठमाडाकै टुँडिखेल मिचिएको तथा प्रतिपक्षमा रहेपनि कांग्रेसको काँधमा अहिले पनि सबैखाले शक्तिलाई मिलाएर अघि बढनुपर्ने दायित्व रहेको बताउनुभयो ।

माओवादी केन्द्रका गोपीबहादुर सार्की आछामीले वर्तमान सरकार गठनपछि राजनीति दलप्रति जनताको निकै आशा र भरोसा बढेको बताउनुभयो । उनले भन, ‘विकास, समृद्धि, सुशासन र भ्रष्टचार नियन्त्रणका लागि दलहरुबीच राष्ट्रिय एकता, सहकार्य र सहमति आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्