Logo
Logo

काभ्रेमा बृहत् खेलकुद महोत्सव हुँदै


504
Shares

काठमडौं । काभ्रेपलाञ्चोकमा यही माघ २० गतेदेखि बृहत् खेलकुद महोत्सव सञ्चालन हुने भएको छ । जिल्ला समन्वय समिति काभे्रपलाञ्चोक र जिल्ला खेलकुद विकास समिति काभे्रपलाञ्चोकको संयुक्त आयोजनामा खेलकुद महोत्सव हुने भएको हो।

महोत्सवमा कम्तीमा १२ वटासम्म विधाका खेल समावेश गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइवाले जानकारी दिए । उनका अनुसार महोत्सवमा सहभागी खेलाडीलाई खाना तथा बस्ने व्यवस्था आयोजकले गर्नेछ ।

टिम दर्ताका लागि सबै खेलका लागि रु दुई हजारका दरले शुल्क लाग्नेछ र सबै विधाका खेलमा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोलाई १० हजार नगद पुरस्कार उपलब्ध गराउने आयोजकले जनाएको छ ।

जिसस प्रमुख गौतमले खेलकुदसँग सम्बन्धित सबै संयन्त्रलाई जिल्लामा आयोजित खेलकुद महोत्सवमा जुट्न आह्वान गरेका छन् । उनले जिल्लामा सञ्चालन गरिने यस्ता खेल महोत्सवबाट नयाँ र कर्मशील खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए । महोत्सव उद्घाटन पनौतीको क्षेत्रीय रङ्गशालाबाट गरिने र धुलिखेल, बनेपा र पनौतीमा खेलाइने समेत गौतमले बताए ।

खेल महोत्सवका लागि खर्च तथा बजेट जिल्लाभित्रैबाट व्यवस्थापन गरिने र ५० लाख लागतको अनुमान गरिएको आयोजकले जनाएको छ । माघ ९ गतेसम्म टिम दर्ताको मिति तय भएको र आवाश्यकतानुसार खेलका विधा थप्न सकिने पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्