Logo

गल्ती देख्न नसक्नु कहाँसम्मको विचार शून्यता होला ?



मार्क्सले ३० वर्षको उमेरमा कम्युनिष्ट घोषणापत्र लेखे । ४१ वर्ष बाँचेका मदन भण्डारी ‘जननेता’को रुपमा युगौँ बाँच्नेछन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रुपमा वीपी कोइरालाले ४६ वर्षको उमेरमा देशको बागडोर सम्हाले । ३० वर्षे कलिलो उमेरमा निधन भएका मोतीराम भट्ट नेपाली साहित्यका माध्यकालीन प्रवद्र्धक थिए । यी हस्ती मात्र होइनन् संसारका कयौं व्यक्तिले कमै उमेरमा गहिरो छाप पारेर संसारलाई बाटो देखाएका छन् । आखिर गरे के हुँदैन् ?

सफलताको चरित्र र मापन अनेक तरिकाले गरिएला । तर, निरन्तरको परिश्रम, अध्ययन, अनुसन्धान र निरन्तरताबिना सफलता सम्भव हुँदैन । यसो हो भने, के नेता बन्ने कुरा कसैको समर्थन, विरोध, ढुंगामुढा वा चर्का भाषणबाट सम्भव हुन्छ त ? पक्कै हुँदैन ।

२००७ सालयताका राजनीतिक परिर्वतनमा हाम्रा पुस्ताले गरेको त्याग, तपस्या र बलिदानलाई नजरअन्दाज गर्न मिल्दैन । व्यक्तिगत जीवन र पारिवारिक जिम्मेवारी सबै भुलेर देश र जनताका लागि ज्यानको आहुति दिने महान् नेतृत्वप्रति सधैँ कृतज्ञ हुनैपर्छ । सँगै, प्रश्न गर्न पनि तयार हुनुपर्छ ।

प्रसंग हाम्रो राजनीतिक पुस्तामा हुर्किरहेको ‘पार्टी होइन गुट, विचार होइन हुल’ प्रवृत्तिको हो । २०६२–६३ को जनआन्दोलनपश्चात नेपालले अपेक्षाकृत प्रगति गर्न सकेन । २०७२ मा संविधान जारी भए पनि गरिबी, बेरोजगारी, पछौटेपन, भ्रष्टाचार, कुशासन अन्त्य भएन ।

व्यवस्थाप्रति सधैँ प्रश्न गरिरह्यौँ । त्यसैले त नेपालीले भनेजस्तो शासन आयो ! तर नियति उस्तै–उस्तै दोहोरिरहेको छ । कतिपयले यहीँ समस्यालाई टेकेर व्यवस्थामाथि प्रहार गरिरहेका छन्, प्रश्न गरिरहेका छन् । शासकको ढंग नपुग्नु फरक कुरा हो, अहिलेको व्यवस्था आफैँमा खराब छैन, समस्या प्रवृत्तिमा छ । जबसम्म प्रवृत्तिमा आमूल परिवर्तन हुँदैन, तबसम्म संघर्ष र बलिदानबाटै साम्यवाद ल्याए पनि उस्तै हुन्छ ।

चोकचौतारा र सार्वजनिकस्थल चारैतिर सुनिने एउटै शब्द हो– ‘जबसम्म युवापुस्ता राजनीतिक नेतृत्वमा आउँदैनन् तबसम्म यो मुलुक बन्दैन ।’ विश्वका उदाहरण छाडौँ, मदन भण्डारी, वीपी कोइराला लगायतका नेताहरु हाम्रै आँखा अगाडि युवापुस्तामै लोकप्रिय भएको उदाहरण हाम्रोसामु छँदैछ । वर्तमान नेतृत्वप्रति भरोसा टुट्दै गएको भान हुन्छ– युवा पिँढी राजनीतिक नेतृत्वमा पुग्नैपर्ने दबाबमूलक टिप्पणीहरुले ।

व्यवस्थाभन्दा नेतृत्वप्रति प्रश्न उठाउने कयौं गुणा बढी छन् । जुनसुकै दलका हुन् नेतृत्व तहमा पुगेर काम गरिरहेकाहरुले कार्यकर्ताबाहेक आम नागरिकको नजरमा सकारात्मक छाप पार्न सकेका छैनन् । परिवर्तनका लागि उनीहरुले गरेका त्याग, तपस्या र बलिदान वर्तमानमा देखिएको भाडभैलो, अराजकता, अराजनीतिक गतिविधिले जनताको बीचमा सबै सिध्याइदिएको छ । यसको दोष सबैमा छैन, केहीबाहेक । कसको कारण यस्तो भयो ? यसको समग्र ब्याख्या छुट्टै गर्नुपर्ने हुन्छ ।

के राणा, राजा, पञ्चायतसँगै संघर्ष गरेर आएका नेता आफ्नै कारण खराब हुन पुगेका हुन् ? व्यवस्था परिवर्तन भए पनि, अवस्था परिवर्तन नहुनुमा नेतृत्वदायी भूमिकामा रहेका नेताहरु मात्र खराब हुन् ? के चोकचौरामा सुनिए झै युवापुस्ताको काँधमा जिम्मेवारी आउँदैमा आमूल परिवर्तन भैहाल्छ त ? यस्ता प्रश्न कतिपयका मनमा घुम्ने गरेका छन् ।

देखिएको समस्याको मूल कारण– न व्यवस्था हो, न त नेतृत्व नै । समस्या तपाईँहामीभित्रै छ । पाँच–पाँच वर्षमा नेता छान्ने अधिकार पाएकै छौँ । नेताले गर्ने कामको जानकारी मात्र होइन, प्रश्न उठाउने अधिकारले सम्पन्न भएकै छौँ । खुलमखुल्ला विचार राख्न पाएकै छौँ । तर पनि समस्या त छँदै छ ।

२०६२–६३ को राजनीति परिवर्तनसँगै दलहरुमा देखिएको समस्याले आजको अवस्था भद्रगोल बनेको छ । राजनीतिक परिवर्तनपश्चात हामी के गर्छौैँ ? कस्ता कार्यकर्ता बनाउँछौँ ? कस्तो विचार बोक्छौँ ? कस्तो कार्यशैली अपनाउँछौँ ? यी ज्वलन्त विषयमा कुनै पनि राजनीतिक दलका नेता तथा कार्यकर्ताले चिन्तित गरेको पाइन्न । युवापुस्ता दलहरुमा देखिएको गुट–उपगुटको शिकार भएका छन् ।

राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेल्ने कांग्रेस, एमाले र माओवादी मुलतः जनताको बीच लोकप्रिय नै बने । जनताको विश्वास यी दलमा देखिनुपनि स्वभाविक थियो । किनकि राणा फाल्ने कांग्रेस, पञ्चायत फाल्ने एमाले र राजा फाल्ने माओवादी नै हो । नसोचेको राजनीतिक परिर्वतन आएको नेपालमा नसोचेको जनमत पाउँदा दलहरुले आफ्ना मूल्यमान्यता, आर्दश, सिद्धान्त सबै बिर्से ।

देशलाई डो¥याएर आर्थिक समृद्धिको महान् उद्देश्यमा केन्द्रित हुन छाडेर ठूलो पार्टीको अध्यक्ष कसरी बन्ने ? प्रधानमन्त्री के गर्दा बनिने हो त्यसैगरी बन्ने, मन्त्री, राजदूत यस्तै–यस्तै ठूला राजनीतिक नियुक्ति कसरी कुम्ल्याउने हो कुम्ल्याइहाल्ने उद्देश्य केन्द्रीत राजनीति हाबी भयो । युवापुस्ता पनि यस्तै गतिविधिमा अभ्यस्त भए ।

२०६५ यता एकपटक २०७३ सालमा मात्र स्ववियु चुनाव भयो । नेविसंघको महाधिवेशन नभएको दशक बित्यो । अनेरास्ववियुमा देखिएको गुटको शिकार कोही भएको छ भने, नेतृत्वमा पुगेका नेता भएका छन् । अखिल (क्रान्तिकारी)को गति अचम्म लाग्दो छ । पार्टीको नर्सरीका रूपमा लिइने भातृ संगठनको यो अवस्थाका बाबजुद पनि पार्टी ठूला भएकै छन् । पार्टीमा खासै असर नपरे पनि नेतृत्वको रुपमा हुर्कदै गरेका युवा पुस्तामा भने गम्भीर असर परेको छ ।

विद्यार्थी संगठनभित्र विचारको कारण समस्या होइन, समस्या गुटकै हो । त्यो गुटको मलजलकर्ता युवापुस्ता भएको छ । हामी सिद्धान्तमा होइन् गुटगत मानसिकताबाट प्रश्न गर्दै आएका छौँ । जब यसो गर्छौ समस्याको समाधान दूर बनिदिन्छ । माउ पार्टी पनि यसको मुख्य जिम्मेवार त हुँदै हुन् । जब नेताले विद्यार्थी संगठनमा गुट गर्दैन, तब पो समस्या समाधान हुने हो । न गुट गर्ने नेतामाथि हामी प्रश्न गर्न सक्छौँ, न गुट नगर्ने क्रियाकलाप बन्द गर्न नै । फेरि गुट नगर्ने हो भने पलायनको स्थिति त विद्यमान छँदै छ ।

माओत्सेतुङ भन्छन्– ‘एक्लो बन तर सत्यको बाटो नछोड ।’ अहिलेको युवापुस्ता एक्लो बन्ने गरी राजनीतिमा लागेका कमै मात्र छन् । विचारका कुराभन्दा हुलको पछि कुद्ने पुस्ता बढी देखिन्छ । पठन संस्कृति हराएको त छँदै छ पार्टीले दिने वैचारिक प्रशिक्षण पनि एकादेशको कथामा रुपान्तरण भएका छन् । कतिपय वैचारिक प्रशिक्षण शास्त्रीय शैलीले दिँदा बुझ्न नसक्ने जमात पनि उत्तिकै छ । सरल र सहज वैचारिक प्रशिक्षणको जरुरी छ ।

अनेक बेथिति छन् । बेथितिका शृङ्खलाहरुमा प्रश्न गर्ने विरोधीमात्रै हुन् ? यही गति र मति भएको भए माक्र्स, मदन भण्डारी, वीपी कोइराला र मोतिराम भट्टको उदाहरण यसरी पस्कन सकिन्थ्यो ?

पञ्चायतको समर्थन गरेकै कारण शिक्षक र निजामती कर्मचारी बनिहाल्ने परिस्थिति ऊ बेला थियो । जसले विरोध गथ्र्यो त्यो मर्न तयार हुनुपथ्र्यो । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ मर्ने रहर भएर राणा शासनको विरोधमा उत्रिएका थिएनन् । ऊ बेला गल्तीलाई गल्ती हो भन्दा मारिने समयमा मर्न तयार हुने नेपाली हामी अहिले आँखै अगाडिको गल्ती देख्न नसक्नु कहाँसम्मको विचार शून्यता होला ?

प्रतिक्रिया दिनुहोस्