Logo
Logo

टाउकोभरि ऐजेरु तर उपचार गर्न खर्च अभाव


रासस

1.3k
Shares

खोटाङ । ‘टाउकोभरि ठूला–ठूला फोका छन् । फोका बर्सेनि बढ्दै आइरहेका छन्’, खोटाङको साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका ४६ वर्षीय शम्भु तिवारीले भने, ‘ऐजेरु बढ्दै गएपछि पछिल्ला दिनमा सुत्नसमेत समस्या हुन थालेको छ ।’

अठार वर्षको उमेरदेखि समस्या झेल्दै आएका तिवारी आफ्नो टाउको र शरीरको ऐजेरु हट्ने भएपछि खुसी हुनुभए पनि उपचारमा लाग्ने खर्चको अभावमा निरास छन् ।

‘उपचार त हुने भयो तर पैसा कसरी ल्याउने भन्ने पिर लागिरहेको छ’, उनले भने, ‘मेरो शल्यक्रिया यही माघ १८ गते वीर अस्पतालमा हुने भयो । तपाईँहरुले सहयोग गरेकै पैसाले अस्पतालसम्म आएको छु । अब फेरि सहयोग गरेर मलाई निको बनाइदिन सबैसँग अनुरोध गर्दछु ।’

बिहान÷बेलुकी हातमुख जोड्नसमेत धौ–धौ पर्ने तिवारीको उपचारमा आर्थिक अभाब भएकोे खबर सामाजिक सञ्जालमार्फत थाहा पाएपछि देश÷विदेशबाट केही सहयोग भएको छ । उनको खातामा रु ६०÷७० हजार जम्मा भएपछि अहिले उपाचारका लागि काठमाडौँ पुगेका छन् ।

घरमा श्रीमती र दुई छोराछोरी भएको तिवारीको तीन पटकसम्म उपचार गर्ने चिकित्सकले योजना बनाएका छन् । लठ््याउनुपर्ने र ऐजेरु धेरै भएकाले एकै पटक उपचार गर्न असम्भव हुने भन्दै चिकित्सकले तीन पटक गरेर शल्यक्रिया गर्ने योजना बनाएका हुन् ।

अस्पतालले सुरुमा रु ५० हजार डिपोजिट लागि जम्मा गर्नुपर्ने र त्यसपछि शल्यक्रिया र औषधिलगायतको खर्च कति आउँछ उपचार सकिएपछि मात्र थाहा हुने बताएका छन् । शल्यक्रिया र औषधिलगायतको खर्च गरेर रु साढे दुई लाख जतिले पुग्ला कि भन्ने तिवारीको अनुमान छ ।

सामान्य घरखेती गरेर परिवार धान्दै आएका उनी यत्रो खर्च कसरी ल्याउने भनेर रातदिन चिन्तामा छन् । सामाजिक सञ्जालमार्फत खर्च जुटेपछि महिना दिनअघि काठमाडौँ पुगेका तिवारी अहिले आफन्तकोमा बसिरहेका छन् ।

उनको उपचारमा सहयोग गर्न चाहनुहुने जो कोहीले पनिउहाँकै बैंक खातामार्फत सहयोग गर्न सक्नुहुने जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंक, दिक्तेल शाखामा तिवारीको नाममा खाता खोलिएको छ ।

प्रतिक्रिया दिनुहोस्