काठमाडौं । सभामुख देवराज घिमिरेले पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्ने बताएका छन् । सभामुखमा निर्वाचित भएपछि पहिलोपटक शनिबार बैठक सञ्चालन गर्नअघि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
सभामुख घिमिरेले आफूलाई निर्वाचित गर्ने सांसदहरुलाई धन्यवादसमेत दिँदै विगतका अभ्यासबाट आफूले पाठ सिकेर पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्ने प्रतिवद्धता जनाए ।

सभामुख घिमिरेले भने, ‘प्रतिनिधिसभाको यो बैठकमा सभामुखको हैसियतले प्रथम पटक सम्बोधन गर्ने अवसर जुटाइ दिनुभएकोमा सम्पूर्ण माननीय सदस्यहरु प्रति हार्दिक आभार र कृतज्ञताका साथै यो अवसरको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’
उनले लोकतन्त्र प्राप्ति, सामाजिक परिवर्तन, कानूनी शासन र समृद्धिको पक्षमा हालसम्म भएका आन्दोलनमा जीवन आहुती दिएकाहरुको स्मरण गर्दै भने, ‘उहाँहरुले देखाउनुभएको बाटोमा अविचलित क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
उनले नेपालको संविधानले अंगिकार गरेका मुलभूत मान्यताहरुको संरक्षण, सम्बर्द्धन र विकास गर्दै संविधानवाद र कानूनको शासनप्रति प्रतिबद्ध रहेर नै संसदीय व्यवस्थालाई सुदृढ र सक्षम बनाउने कर्तव्यप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताए ।
उनले भने, ‘संसदमा उपस्थित सबै राजनीतिक दल र माननीय सदस्यहरुबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गर्दछु । सभामुखको पद तटस्थ, निश्पक्ष र समन्वयकारी हुने भएकोले यो पदको गरिमा र शाखको अभिवृद्धि गर्नु मेरो संवैधानिक दायित्व हो भन्ने कुरामा म सदैव सचेत र क्रियाशील रहने छु ।’
संसदीय व्यवस्थामा सत्तापक्ष आफ्नो नीति कार्यक्रम र योजनाका माध्यमबाट जनता समक्ष भएको बताउँदै उनले प्रतिपक्षी दलहरु सत्तापक्षको नीतिगत र कार्यक्रमिक योजनाको गुण र दोषको बारेमा सत्तापक्षलाई सचेत र खबरदारी गर्न आवश्यक रहेको बताए ।
‘प्रतिपक्षको आवाजको उचित सम्बोधन गर्नका लागि उसले संसदमा तदनुकूलको अवसर प्राप्त गर्नु पर्ने भएकोले बेलायती संसदीय अभ्यासको क्रममा विकसित भएको सत्तापक्ष र प्रतिपक्ष को भन्ने मान्यतालाई संसदमा मुखरित हुन दिनुपर्दछ भन्ने कुरामा म सचेत छु’ उनले भने ।














