
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताएका छन् ।
तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालका विभिन्न स्थानमा बसोबास गर्ने सबै जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताएका हुन् ।
‘सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो। यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो’, उनले भने ।
जनताले लोकतन्त्रका लागि आन्दोलन गरेपछि धर्मनिरपेक्ष, समानुपातिक समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको उनको भनाइ छ । ‘यसका लागि तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्याङ्कन र प्रशंसा गर्न चाहन्छु’, उनले भने ।
प्रधानमन्त्री दाहालले ल्होछारको अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको सङ्गमस्थल भएको भन्दै उनले नेपालमा एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताए ।














