Logo
Logo

माओवादी केन्द्रीय सदस्य माया बलको निधन


819
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माया बलको निधन भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत बलको गएराति साढे ८ बजे निधन भएको हो ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अच्युतम काफ्लेका अनुसार ५३ वर्षीया बल ३ वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित थिइन् ।

सर्लाहीको हरिवन नगरपालिका ९ नयाँरोड घर भएकी बलको स्वास्थ्य अवस्था जटिल बनेपछि दुई साताअघि उनलाई काठमाडौं लगिएको थियो । उपचारका लागि केएमसीमा भर्ना गरिएको थियो ।

०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट जनप्रतिनिधिमा विजयी भएकी बल ०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा लागेकी थिइन् ।

१० वर्षे जनयुद्धमा उनले सर्लाहीसँगै सिन्धुली, महोत्तरी, रौतहट लगायतका जिल्लामा रहेर काम गरेकी थिइन् । तीन वर्षअघि क्यान्सर भएको पुष्टि भएपछि सर्लाही जिल्ला पार्टीले उनको उपचारका लागि पहल गरेको थियो ।

त्यतिबेला जिल्ला पार्टीले उनलाई एक वर्षसम्म औषधि खर्चका लागि मासिक ५० हजार रुपैयाँ सहयोगसमेत गरेको थियो ।बलका पति, तीनवटी छोरी र एउटा छोरा छन् । उनका छोरा हाल अस्ट्रेलियामा अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्