काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीके राउत नेतृत्वको जनमत पार्टीलाई छलफलका लागि बोलाएका छन् । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले त्यसबारे छलफल गर्न बोलाएका हुन् ।

प्रधानमन्त्रीले छलफलका लागि बोलाएको जनमतका महासचिव चन्दन सिंहले बताए । उनले भने, ‘प्रधानमन्त्रीले छलफलका लागि पार्टीलाई बोलाउनुभएको छ । मन्त्री खान गएर आज कुरा गर्नुहुन्छ ।’
उनले प्रधानमन्त्रीको धारणाका आधारमा निर्णय गर्नेसमेत बताए । ‘प्रधानमन्त्रीले हामीलाई जिम्मेवारी थप्ने कुरा गर्नुभएको छ’ उनले भने, ‘उहाँले भनेको कुरा पूरा गर्नुहुन्छ कि हुन्न हामी हेरिरहेका छौँ ।’ उनले आज अपरान्ह बोलाएको बताए पनि फिक्स समय नभएको बताए ।
जनमत पार्टी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माग गर्दै आएको छ । आइतबारसम्म मन्त्रालय परिवर्तन नगरे सरकार छोड्ने जनमत पार्टीबाट मन्त्री भएका अब्दुल खानले प्रधानमन्त्री दाहाललाई जानकारी गराइसकेका छन् ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको क्रममा जनमत पार्टीलाई खानेपानी मन्त्रालय दिएका थिए । सुरुमा जनमतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो । उक्त मन्त्रालय दिने वचनपछि प्रधानमन्त्री दाहालसँगै जनमत पार्टीका सांसद खानले मन्त्रीको शपथ लिएका थिए ।
शपथपछि झन्डै तीन साता कुनै मन्त्रालय नतोकी राखिएको थियो । दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा खानलाई खानेपानी मन्त्रालय जिम्मा लगाइएको थियो । तर, खानले असन्तुष्टि जनाउँदै पदभारसमेत गरेका छ्रैनन् ।














