Logo
Logo

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ : प्रधानमन्त्री


567
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन् । २८५९ औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजना सोनाम ल्होसार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘आजबाट सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व -२८५९ ह्योई-तावर ल्हो (बिरालो वर्ष) को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण ल्होसारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ 

‘नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको समस्थल हो । यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यहाँ बसोबास गर्ने सबै जाति-जातजातिको आ-आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो ।’

प्रधानमन्त्रीले थपे, ‘नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो । यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछन् । कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानहरूको) ल्होछार पनि भन्दछन् ।’

‘ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो। यो परम्परामा विभिन्न बाह्र वटा पशुपन्छीको नामबाट १२ ल्होको नाम राखिएको हुन्छ र बाह्र वर्षको चक्र बनाइन्छ,’ उनले भने, ‘बाह्र ल्हो मध्ये प्रत्येक बर्ष एक-एकवटा ल्हो फेरिन्छ । ल्हा (बर्ष) सँग खाम (पाँच तत्व) हरू- आगो, पानी, माटो, फलाम, काठ, सँग जोडिएका हुन्छन् । यही ल्हो फेरिने दिनलाई तामाङ समुदायले ल्होछार पर्वको रुपमा मान्दै आएका छन् । तामाङहरुले मान्ने ल्होछार (नयाँ वर्ष) तामाङ मत्तजुश्री पात्रोको पहिलो महिनाको पहिलो दिन हो । हिजो ताक् ल्हो ९बाघ बर्ष० लाई विदा गरियो । आजबाट ह्योई (खरायो बर्ष) ल्हो शुरु भयो । यसैले यो तामाङ सभ्यताले मानव र प्रकृतिको जीवनलाई बुझ्ने विज्ञान र दर्शन पनि हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ । तामाङ जीवन र संस्कृतिको यही ल्हो परम्परा र विश्वासबाट सञ्चालित हुँदै आएको छ भन्ने मैले बुझेको छु ।’  

‘नेपालमा मात्र नभएर चीन, मंगोलिया, जापान, कोरिया, भियतनाम, लाओस, थाइल्याण्ड, ताईवान, मलेसिया, सिंगापुर लगायतका मंगोल-चिनिया सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइन्छ । आज नै कामको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ संघ-संस्थाहरुले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन् । तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ। यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘ल्होछार पर्व केबल तामाङको मात्र पर्व होइन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो। नेपालमा यस्ता ऐतिहासिक एबम् बैज्ञानिक महत्व बोकेको थुप्रै पर्व छन् । तर विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्नाले नेपालका धेरै संस्कृतिहरु लोप भएर जादैँछन् । मानव सभ्यता मर्दैछ । अर्कातिर पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ । यो परिप्रेक्ष्यमा राज्यले ती सबै राष्ट्रिय संस्कृतिको प्रवर्धन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

प्रतिक्रिया दिनुहोस्