Logo
Logo

१५ वर्षपछि ‘प्रतिगन्ध’, सरुभक्त भन्छन्, ‘म जाँगरिलो लेखक होइन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ असोज । साहित्यमा उपन्यासबाट उचाइमा रहेका साहित्यकार सरुभक्तले १५ वर्षपछि सातौँ उपन्यास प्रतिगन्ध लिएर पाठक समक्ष आएका छन् ।
२०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्षहरु नियालिरहँदा उत्पन्न अनेक अनुभूतिको समिश्रणलाई उतार्न अठोट लिएर उनी फर्किएका थिए । अमेरिकामा बसेका नेपालीले भोगेको भोगाइको साझा चित्रणलाई सरुभक्तले १५ वर्षपछि प्रतिगन्ध उपन्यासमा सार्वजनिक गरेका हुन् ।
लामो समयपछि आउनुको कारणबारे आफैँ प्रष्टाउँदै उनले भने, ‘म त्यस्तो जाँगरिलो लेखक होइन । मलाई बढी अल्छी मान्न जाँगर चल्छ । जुन बेला अल्छी मान्ने जाँगर चल्दैन । त्यो बेला लेख्छु ।’ प्रतिगन्ध भिन्न डायस्पोराको कथा भएको उनले बताए ।
सरुभक्तले आफूले यसअघिका किताब त्यति धेरै सम्पादन गर्ने नगरेको भन्दै यसलाई निर्ममतापूर्वक सम्पादन गरेको अनुभव सुनाए । उनले यसका २५० पृष्ठ हटाएको भन्दै झण्डै झण्डै एउटा उपन्यास नै हटाएको बताए । प्रत्येक लेखक आफैँ एक सम्पादक भएको बताउँदै लेखकले आफ्नो कृतिलाई राम्ररी सम्पादन गर्नुपर्नेमा जोड दिए । उनले लामो व्याख्या र वर्णन गर्ने अहिलेसम्मको प्रयोगलाई भत्काएर नयाँ स्वाद दिएको बताए ।
पोखराको पुरानो वाङ्मयी संस्था पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पछिल्लो पुस्ताका चर्चित युवा आख्यानकाहरु गनेस पौडेल, सरस्वती प्रतीक्षा र तीर्थ गुरुङले संयुक्तरुपमा प्रतिगन्धको आइतबार लोकापर्ण गरेका हुन् ।
कार्यक्रममा कवि तीर्थ श्रेष्ठले सरुभक्त जीवन्त लेखाइमा सफल भएको बताए । फरक दृष्टकोणबाट लेखकीय प्रस्तुतिनै उनको विशेषता भएको भन्दै श्रेष्ठले लेखकीय दृष्टिकोण नै निकै गजबको भएको अनुभव सुनाए ।
नथिया कि लेखक सरस्वती प्रतीक्षाले प्रतिगन्धको शक्तिले उपन्यास पढ्ने पाठकलाई फरक स्वाद दिन सफल भएको बताए । एउटै उपन्यासभित्र चार÷पाँच वटा उपन्यास पढेजस्तै लाग्ने यसभित्र विदेशिने युवाको जीवन्त कथा भएको बताए ।
आख्यानकार गनेसले प्रतिगन्ध अमेरिकाकै कुनै लेखकले लेखेको कथाजस्तो लाग्ने बताए । भारतीय, ब्रिटिस, हङकङ लाहुरे हुँदै विस्फोटक रुपमा फेरिएको लाहुरेको परिभाषा र त्यसैअनुरुप अमेरिका पुगेकाको कथा प्रतिगन्धमा रहेको छ । पाठशाला उपन्यासका लेखक गुरुङले प्रतिगन्धमा अमेरिकी लाहुरेहरुको मार्मिक कथा भएको बताए ।
सरभक्तको पागल बस्ती उपन्यासको नयाँ प्रयोगले उनलाई मदन पुरस्कारसमेत दिलाएको थियो भने उनका अभिमन्यु, तरुनी खेती, बाल उपन्यास अँध्यारो कोठा, समय त्रासदी र चुली उपान्यास प्रकाशित भइसकेका छन् उहाँको प्रतिगन्ध सातौँ उपन्यास हो । उनका विभिन्न विधामा झण्डै ५० कृति प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्