
काठमाडौं । सरकार ढल्ने चिन्तामा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल अहिले काठमाडौंमा छन् ।
अरु प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिइसक्दा सुदूरपश्चिमका मुख्यमन्त्री रावल विश्वासको मत पाउने हिसाब–किताब मिलाउन केहि दिनदेखि काठमाडौंमा शीर्ष नेतृत्वसँग लविङमा छन् ।
सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलका नेतासमेत रहेका रावल एमालेसहित माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
तर, नागरिक उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन रेशम चौधरीलगायत बन्दीहरूको रिहाइ हुनुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका तीनबुँदे माग राखेको छ । ती माग पूरा नभएसम्म विश्वासको मत पनि नदिने र सरकारमा पनि नजाने उन्मुक्तिको अडान छ ।
उसले समर्थन नगरे मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना कम छ । त्यसैले अहिले उनी रेशम छुटाउने प्रत्यत्न स्वरुप काठमाडौंमा छन् । रेशमको रिहाइलाई प्रमुख मुद्दा बनाइरहेको नागरिक उन्मुक्ति पार्टीको साथ नभए मुख्यमन्त्री रावललाई विश्वासको मत पुग्दैन ।
रावल माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । अहिले उनलाई विश्वासको मतका लागि न्यूनतम २७ जना सांसदको विश्वास जित्नुपर्छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, नियुक्तिका बखत आफूलाई समर्थन गर्ने सांसदले विश्वासको मत नदिने सम्भावना देखेपछि रावल काठमाडौं पुगको हुन् ।
उनले शनिबार बालकोट पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे । भेटमा अध्यक्ष ओलीले रेशमको रिहाई तत्काल सम्भावना नरहेको बताएको स्रोत बताउँछ ।
त्यस्तै मुख्यमन्त्री रावलले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्री दाहालले प्रक्रिया पूरा गरेर रेशमलाई छुटाउने प्रतिबद्धता गरेको एक नेताले बताए ।
‘हाल सदन चलिरहेकाले अध्यादेश ल्याउन नसकिने, विधेयकको बाटो पनि सहज नभएको र न्यायपालिकाको पनि सवाल भएकाले कठिनाइ रहेको तर रिहाइका लागि हरसम्भव प्रयत्न गर्ने आश्वासन प्रधानमन्त्रीले दिनुभयो,’ उनले भने ।
मुख्यमन्त्री रावलले रेशमलाई डिल्लीबजार कारागार पुगेर यसअघि नै भेट गरिसकेका छन् । सोमबार बिहानको छलफलपछि एमाले नेताहरू विश्वासको मत पाउनेमा आशावादी देखिएका छन् तर पूर्ण विश्वस्त हुन सकेका छैनन् ।
मुख्यमन्त्रीको शपथ लिएकै रावलले माओवादी र एमालेबाट एक–एक जनालाई मन्त्री नियुक्त गरेका थिए । मन्त्रीहरूले जिम्मेवारी तोकिएको छैन । उनीहरु बेकामे बनेका छन् ।











